arin enterprises

१३औं साग भुटानविरुद्ध ४ गोलले नेपालको जीत

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १८, बुधबार

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ ।

मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानको पोस्टमा ४ गाले हान्यो । नेपालले खेलमा ४–० को फराकिलो अन्तरसहित जीत हात पार्यो ।

नेपाललाई जिताउने क्रममा कप्तान सुजल श्रेष्ठले महत्वपूर्ण दुइ गोल हाने । अभिषेक रिजाल र मिक्छेन तामाङले एक÷एक गोल गरे ।

खेलको पाँचौ मिनेटमै कप्तान श्रेष्ठले नेपालको लागि पहिलो गोल गरे । 

मध्यान्तरसम्म पुग्दा खेल १–०मै रोकियो भने नेपालले मध्यान्तरपछि तीन गोल थपेको हो ।

खेलको शुरुवातको पाँचौ मिनेटमै गोल गरेका कप्तान श्रेष्ठले दोश्रो हाफको पाँचौ मिनेट अर्थात ५०औं मिनेटमा फेरी गोल गरे ।

अभिषेकले ६५औं मिनेटमा नेपाललाई तेश्रो गोल दिलाए ।

चौथो गोल मिक्छेनको नाममा रह्यो । ७७औं मिनेटमा नेपालले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै मिक्छेनले चौथो गोल गरेका हुन् । मिक्छेनले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।

साविक विजेता नेपालले अब आफ्नो दोस्रो खेलमा बुधबार साँझ ५ बजे श्रीलंकासित खेल्नेछ ।

 

 

महिला टोलीको पनि जित

महिला फुटबलमा पनि नेपालले विजयी सुरुआत गरेको छ ।

मंगलबारै पोखराको रंगशालामा भएको महिला फुटबलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गर्यो ।

नेपालका लागि खेलको अन्त्यतिर सरु लिम्बूले निर्णायक गोल गरेकी थिइन् ।

चार टोली सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीबार माल्दिभ्ससित खेल्नेछ ।

Categorized in स्पाेर्ट्स