एसईई परीक्षा आजदेखि शुरु
SamacharDesk | २०७९ बैशाख ९, शुक्रबार

यस वर्षको एसईई परीक्षा आजदेखि शुरु भएको छ । विहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा परीक्षा शुरु भएको हो ।
परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्ष ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी रहने बोर्डले जनाएको छ । प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट ३६ हजार जना र सबैभन्दा कम मनाङबाट २९ जना रहेका छन् ।
कोरोना महामारीका कारण गएका दुई वर्ष भौतिक उपस्थितिमा परीक्षा हुन नसकेका कारण आन्तरिक मूल्यांकनबाट एसईईको रिजल्ट प्रकाशित गरिएको थियो । यस वर्ष भने परीक्षार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएको छ ।
नेपाल बाहेक जापानबाट पनि परीक्षार्थी सहभागी भएका छन् । टोकियोस्थित नेपाली विद्यालय एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययन गरेका १९ जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन । परीक्षा सञ्चालनका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र र एउटा उपकेन्द्र तोकिएको छ । यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था हटाइएको छ भने जतिसुकै उमेरकाले पनि परीक्षा दिन पाउने भएका छन् । परीक्षाको नतिजा आगामी असार मसान्तभित्रै प्रकाशित गरिने परीक्षा वोर्डले जनाएको छ ।
Categorized in राष्ट्रिय
