ढोकाबहालको नाथेश्वर मन्दिर जिर्णोद्धारपछि उद्घाटन
SamacharDesk – कल्चर ब्यूरो | २०७६ पौष ६, आइतबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं ढोकाबहालमा जिर्णोद्धार सम्पन्न नाथेश्वर (नासःद्यः)को मन्दिर उद्घाटन गर्नुभएको छ । आइतबार ढोकाबहालमा आयोजित एक कार्यक्रमका बीच मेयर शाक्यले रिबन काट्दै मन्दिरको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा शाक्यले नाथेश्वरको दर्शन र पूजा पनि गर्नुभएको थियो ।
उद्घाटन पछि आयोजित औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौं महानगरको सँस्कृति, सम्पदाको संरक्षणमा कुनै कसर बाँकि नराख्ने बताउनुभयो । काठमाडौं महानगरभित्रका ऐतिहासिक मन्दिर पाटिपौवा विहार लगायतका साँस्कृतिक सम्पदा संरक्षणको दायित्व महानगरकै भएको बताउँदै सम्वन्धित सरंक्षण, सम्वद्र्धनमा सम्वद्ध गुठी, संस्थालाई सहयोग गर्न महानगरपालिका तयार रहेको बताउनुभयो ।
गत असारको पहिलो साताबाट मन्दिरको जिर्णोद्धार कार्य शुरु गरिएको थियो । जम्मा ५ लाख ६ हजार ९९० रुपैयाँको लागतमा जिर्णोद्धार सम्पन्न भएको हो ।
मन्दिरको जिर्णोद्धारका लागि कामपा २५ वडा कार्यालयबाट ३ लाख २० हजार रुपैयाँ उपलब्ध गराइएको थियो भने बाँकि रकम जनसमुदायबाट नै संकलन गरिएको थियो ।
‘गरियो भने नसकिने केही छैन भनेर यो मन्दिर जिर्णोद्धारबाट प्रमाणित भएको छ’, शाक्यले बताउनुभयो, ‘हाम्रो सम्पदाको संरक्षण हामी आफैं गर्छौं भनी जन समुदाय लागिपरेमा यहाँको साँस्कृतिक मूर्त अमूर्त सम्पदा संरक्षण उदाहरणीय ढङ्गले हुने निश्चित छ ।’
कामपा २५ वडाध्यक्ष नीलकाजी शाक्यले पनि मन्दिरको जिर्णोद्धार सम्पन्न गरेकोमा नाथेश्वर (नासःद्यः) मन्दिर पुनःर्निर्माण तथा संरक्षण समितिलाई बधाई दिँदै समितिको कामको प्रशंसा गर्नुभयो ।
जिर्णोद्धार कार्यको आर्थिक पक्षको जानकारी दिँदै समितिका कोषाध्यक्ष नाति प्रजापतिले जिर्णोद्धारको लागि भएको खर्च विवरणको साथमा जम्मा १० लाख २६हजार ६४५ रुपैयाँ संकलन भएको जानकारी दिनुभयो । बाँकि रकमब मन्दिरकै मर्मतसम्भारको लागि कोषमा जम्मा गरिने प्रजापतिले बताउनुभयो ।
एक महिनामै जिर्णोद्धार सम्पन्न गर्ने लक्ष्य रहेकोमा ठेकेदारको लापरवाहिको कारण केही सयम ढिलाइ हुन गएको समितिका अध्यक्ष बुद्धराम महर्जनले बताउनुभयो ।
सोही कार्यक्रममा मन्दिर पुनर्निर्माणको लागि ५ हजारभन्दा माथि सहयोग गर्ने चन्दादातालाई सम्मान पनि गरिएको थियो ।
