arin enterprises

यादमै मात्र बाँकि छन् अब गायक केके

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ जेठ १८, बुधबार

हिजो भख्खरै स्टेजमा गाउँदै थिए, ‘हम रहे या ना रहें कल, कल याद आयेंगे ये पल ।’ कसलाई थाहा थियो र, एकछिन अगाडी मात्र आफुले गाएको गीत जस्तै नै आफैं नै यादमा सिमित हुन जाँदैछन् ।

गायक कृष्णकुमार कुननाथ, जसलाई बलिउड साथै नेपालमा समेत बलिउड संगीत प्रेमीहरुले केके भनेर चिन्छन् । ५३ वर्षीय गायक केकेको निधन भएको छ ।

धेरैले पत्याउन नै सकिरहेका छैनन्, एकैछिन अगाडी मात्र स्टेजमा मज्जाले गीत गाइरहेका केके अब रहेनन् भनेर ।

हिजो भख्खर मात्रै उनी कोलकाताको एक कलेजको कन्सर्टमा गीत गाउन पुगेका थिए । नजरुल मन्चमा भएको सो कन्सर्टमा हम रहे या ना रहे कललगायत आफ्ना सुपर हित गानाहहरुले उनले गाए ।

आफ्नो मधुर आवाजले उनले अडियन्सलाई मोहित बनाए । अडियन्स पनि उनको गीतसँगै मज्जाले झुमेका थिए ।

कार्यक्रम चल्दै गर्दा उनले आफुलाई सन्चो नभएको बताएका थिए । कार्यक्रम पछि उनी कोलकाताकै होटल एस्प्लेनेड पुगेका थिए ।

होटलको सिँढिमा बेहोस भएपछि उनलाई कोलकाताको एउटा निजी अस्पतालमा लगिएको थियो । अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।

अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो । उनलाई हृदयघात भएको रहेछ ।

संगीतप्रेमीहरुका प्रिय, धेरैको मुटुको ढुकढुकी बन्न सफल गायक केके अब रहेनन्, अब उनीसँग जोडिएको पलहरु यादमा मात्र बाँकि छन् । उनले गाएका गीतहरु बाँकि छन् ।

उनले गाएका थुप्रै गीतहरु सुपर हिट भएका छन् । तुझे सोचता हुँ, खुदा जाने, तु हि मेरी सब है, हाँ तु है, दिलनशिं लगायतका थुप्रै गीतहरु केकेले बलिउडलाई दिएको छ । उनका फ्यानहरुले अब उनका नयाँ गीत भने सुन्न पाउने छैनन् ।

हिजो राति उनको निधन भएसँगै केके अब यादमा मात्र बाँकि भएका छन् । उनले गाएका सदाबहार गीतहरुले भने उनलाई संगीत प्रेमीहरुको माझ सधैं जिवीत नै बनाइ राख्ने छन्, यादमै भएपनि सहि ।

Categorized in पेजथ्री