मृत्युदण्डको आदेशविरुद्ध मुशर्रफ उच्च अदालतमा
SamacharDesk – विकाश | २०७६ पौष १२, शनिबार

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले आफुलाई मृत्युदण्ड दिने विशेष अदालतको फैसलाविरूद्ध लाहोर उच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।
पूर्व सैनिक प्रमुख समेत रहिसकेका मुशर्रफले आफ्ना कानूनी सल्लाहकार अधिवक्ता अजहर सिद्दिकीमार्फत ८६ पाना लामो निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै ‘असङ्गतपूर्ण र विरोधाभाषपूर्ण’ भनाइहरू भएको बताइएको छ । अदालतमा प्रस्तुत गरिएको याचिकामा विशेष अदालतबाट भएको फैसलाले धार्मिक, सामाजिक र संवैधानिक दायरा नाघेको उल्लेख गरिएको छ ।
निवेदनमाथि सुनुवाईका लागि न्यायाधीश मजाहिर अलि अक्बर नाक्वीको नेतृत्वमा आगामी जनवरी ९ मा इजलास हुनेछ।
विशेष अदालतले गत डिसेम्बर १९मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । पाकिस्तानी इतिहासमा सैनिक प्रमुखका हैसियतमा काम गरिसकेका कुनै व्यक्तिमाथि देशद्रोह अभियोग अदालतबाट पुष्टि भएको यो पहिलो घटना हो ।
मुशर्रफविरूद्ध सन् २००७ को नोभेम्बर ३ मा पाकिस्तानी सविधानलाई डिसेम्बर १५ सम्म निलम्वन गरी पाकिस्तानमा सङ्कटकाल लगाएको र उक्त घटना पाकिस्तानी कानून अनुसार देशद्रोही भएको दावीसहित सन् २०१३ मा अभियोग दर्ता गरिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय