विराटनगरलाई हराउँदै चितवनले जित्यो उपाधी
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ पौष १२, शनिबार

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) दोश्रो संस्करणको उपाधि चितवन राइनोजले उचालेको छ ।
आज पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले पहिलो उपाधि जितेको हो ।
२ सय ३ रनको फराकिलो लक्ष्य लिएर मैदानमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो ।
१७० रन जोड्ने क्रममा विराटनगरका लागि मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । आलमले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरेपनि टिमलाई हारबाट बचाउन भने सकेनन् ।
यसैगरी, कप्तान प्रदिप सिंह ऐरीले ३६, पुनित मेहेराले ३२ र नोमान खानले १८ रनको योगदान दिए ।
बलिङतर्फ चितवनका करन केसीले ३ र सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रनको फराकिलो योगफल बनाए ।
चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले । दुवै ब्याट्सम्यानले समान ५०–५० रन बनाएका थिए ।
कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे ।
विराटनगरका पुनित मेहेरा र जैद आलमले समान २–२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।
Categorized in स्पाेर्ट्स