भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो
SamacharDesk | २०७९ जेठ २६, बिहिबार

संसारभर महामारीको रुप लिएको कोरोना भाइरस विगत केही महिना यता मत्थर भएर पनि यस भाइरसले फेरि आक्रान्त हुन थालेको छ ।
अहिले भारतको महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । भारतमा एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् ।
यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । तीन महिनापछि पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो ।
भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ ।
साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ । पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ७२३ पुगेको छ ।
भारतमा अहिलेसम्म कोभिडबाट ४ करोड ३१ लाख ९७ हजार ५२२ संक्रमित भएका छन् । बुधबार महाराष्ट्रमा २ हजार ७ सय १ जनामा कोभिड देखिएको थियो ।
यो संख्या २५ जनवरीपछिकै उच्च हो । संक्रमितमध्ये कम्तीमा ४२ प्रतिशत मुम्बईका रहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय