राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिएको संघको आरोप
SamacharDesk | २०७९ जेठ ३०, सोमबार

नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गर्दै खारेजको माग गरेको छ ।
संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले एक विज्ञप्ति जारी गर्दै राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिक झै व्यवहार गर्दै आएको भन्दै कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धि हटाउनुपर्ने बताएका छन् ।
कस्मेटिक सामग्री विलासिताको सामान मात्र नभएर दैनिक उपभोग्य वस्तु हो भन्ने आमउपभोक्तामा विश्वासको वातावरण बन्दै गएका बेला आत्मनिर्भर अर्थतन्त्रका लागि देशभरका कस्मेटिक व्यवसायीहरुले महत्वपूर्ण योगदान गरेको उनले जनाएका छन् ।
संघले सौन्दर्य सामग्री उत्पादनमा स्थानीय जडिबुटी प्रयोग गर्न मागसमेत गरेको छ । पछिल्लो समय कस्मेटिक व्यवसाय केन्द्र, प्रदेश र स्थानीय सरकार मात्र हैन, प्रहरीका साथै विभिन्न समूहबाट पीडित भई पलायन हुने अवस्था सिर्जना भएको व्यवसायीहरुको गुनासो छ ।
‘कस्मेटिक सामग्री स्याम्पु, सावुन, लोसन, फेस क्रिम, सावर जेल, सेन्ट, बडीस्प्रे, आफटर सेभ, सेभिङ क्रिम, ब्लेड, रेजर तथा नेपाली धर्म, सस्कृतिमा जोडिएको महिलाका शृङगार सामग्री नेल पालिस, लिपिस्टिक, चुरा, पोते, सिंदुर, काईयो, ऐना, जस्ता सौभाग्य सामग्रीलाई लगातार अन्तशुल्क लगाई भन्सार वृद्धि गरिनु तथा दैनिक उपभोग्य सामग्रीलाई विलासिताका वस्तुको रुपमा राखिनु हाम्रो परम्परा संस्कृति माथि सरकारको गिद्देदृष्टि हो भन्ने हाम्रो ठम्याइँ छ।
अतः सरकार र प्रशासनको यस्तो रवैयाप्रति हामी घोर भर्सना गर्दछौ । साथै, सरकार र प्रशासनसमक्ष कस्मेटिक व्यावसायीहरुमाथि भएको अन्यायपूर्ण नीतिलाई तुरुन्त सुधार गरियोस भन्ने जोडदार मागसमेत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
Categorized in राष्ट्रिय