arin enterprises

निःशुल्क शौचालय संचालन गर्न ३३ संघसंस्थासँग सम्झौता

SamacharDesk – राम डंगोल | २०७९ आषाढ ७, मंगलबार

काठमाडौं महानगरपालिकाले थालनी गरेको निःशुल्क सार्वजनिक शौचालय अभियानमा हालसम्म ३३ संघसंस्था महानगरसँग आबद्ध भएका छन् ।

स्वतस्फुर्त रुपमा उक्त अभियानमा बैङ्क, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका संघसंस्थाहरु आबद्ध भई सोमबार सम्झौता भएको हो।

महानगरप्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र दोस्रो पक्षकातर्फबाट प्रतिनिधिले हस्ताक्षर गर्नुभयो।

आगामी पाँच वर्षका लागि भएको उक्त सम्झौतामा यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा दोस्रो पक्षकै हुनेछ। यसबापत सेवा लिन करकाप वा प्रोत्साहन नगर्ने सम्झौतामा उल्लेख गरिएको छ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एकरएक जना प्रतिनिधि तोकिने र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र भनेर सबै सार्वजनिक शौचालयको पहिचान एउटै हुनका लागि संकेत चिन्ह तयार पारिएको छ।

गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिह्न रहेको छ। संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

Categorized in स्थानीय