तेश्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुनमा हुने
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ माघ ३, शुक्रबार

काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आउँदो फागुन १ गतेदेखि ५ गतेसम्म तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (niff) हुने भएको छ।
काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गरी नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पुर्याउने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
‘विश्वका कथाहरुको कथ्य उत्सव’ नारासहित सुरु हुन लागेको महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोमध्ये १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन्। एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो।
५५ देशका ६ सय भन्दा बढी चलचित्रबाट उत्कृष्ठ ८० वटा चलचित्र महोत्सवका लागि छनोट भएका छन्।
कथानक चलचित्र, बृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रहरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ। त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने पनि आयोजकले जनाएको छ।
त्यसैगरी नेपाली उत्कृष्ट चलचित्रलाई १ लाख रुपैयाँसहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ।
कथानक चलचित्रको मूल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा अभिनेत्री गौरी मल्ल, वरिष्ठ छायाँकार मन्जु कुमार श्रेष्ठ, वरिष्ठ प्राविधिक करुण थापा सम्मिलित निर्णायक समिति गठन गरिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिए।
वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मुल्याङ्कन श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ।
महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ भने प्रकाश झाको एउटा मास्टर क्लास पनि रहने कुरा बताइएको छ ।
Categorized in पेजथ्री