मुस्लिम धर्मावलम्बीहरु बकर ईद मनाईंदै
SamacharDesk | २०७९ आषाढ २६, आइतबार

आज मुस्लिम धर्मावलम्बीहरुले आफ्नो दोस्रो महान पर्व बकर ईद हर्षाेल्लासपूर्वक मनाइरहेका छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मस्लिम समुदायको यस महान पर्वमा शुभकामना प्रदान गर्नुभएको छ । उहाँले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ ।
मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो ।
उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना दिनुभएको छ ।
यस अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा समेत दिएको छ ।
Categorized in राष्ट्रिय