२०९औं भानु जयन्ती मनाईंदै
SamacharDesk | २०७९ आषाढ २९, बुधबार

नेपाली साहित्यका आदिकवि भानभुक्त आचार्यको आज २०९औं जयन्ती ।
आदिकवि भानुभक्त विसं १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनु भएको थियो । उहाँले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याउनु भएको छ ।
तुलसीदासको रामायणलाई नेपाली लोक लयमा उल्था गरेर उहाँले नेपाली साहित्यलाई जन जनमा पुर्याउनु भएको हो । उहाँका दर्जनौं रचनाहरु रहेका छन् ।
जसमा बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता तथा फुटकर रचनाहरु रहेका छन् । यसै अवसरमा आज काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरी विहान प्रभातफेरि पनि निकालिएको थियो ।
यस अवसरमा सरकारी तथा गैरसरकारी तहमा आदिकविको सम्झना तथा योगदानको कदर गर्दै देश विदेशमा विभिन्न कार्यक्रम गरियो । भानु जयन्ती भारतको दार्जिलिङ, सिक्किम, आसाममा पनि भब्य रुपमा मनाउने गरिन्छ । पछिल्लो समय विश्वभर फैलिएका नेपालीहरुले आ–आफ्नै तरिकाले भानु जयन्ती मनाउने गर्दछन् ।
२०९ओं भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताउनुभएको हो । राष्ट्रिय विभूति भानुभक्तको योगदान बारे नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत भएको उल्लेख गर्नुभयो ।
Categorized in राष्ट्रिय