नेपालको पहिलो राष्ट्रिय गीत ‘राजमति’ भएको दावी
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ श्रावण ६, शुक्रबार

नेपालको पहिलो राष्ट्रिय गीत नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ भएको दावी गरिएको छ । आज काठमाडौंमा सम्पन्न कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् ।
काठमाडौंमा सम्पन्न नेवाः कलाकार भेला र एल्बम विमोचन कार्यक्रमका वक्ताहरुले नेपालको पहिलो राष्ट्रिय गीतको रुपमा राजमति कुमति नै प्रयोग गरिएको भएतापनि राज्यको एक भाषा नीतिका कारण यो ईतिहास दबाइएको दावी गरिएको थियो ।
कार्यक्रममा राजमति कुमति गीतको महिला भर्सन ‘राजमानचा कुमानचा’ काे साथमा नेपालभाषाका गीति संग्रह एल्बम ‘राजमानचिया म्ये’ र गायक प्रचण्ड राजोपाध्यायको आधुनिक गीतको एल्बम ‘स्वर’ विमोचन गरिएको थियो ।
दुवै एल्बमको वरिष्ठ गायक जुजुकाजी रंजित र आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले संयुक्त रुपमा विमोचन गरे ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुनुवारले नेपालको पहिलो राष्ट्रिय गीतको महिला भर्सन सार्वजनिक भएकोमा खुसी व्यक्त गर्दै यस गीत र एलबमले नेपालको सहि ईतिहास कोर्न मार्गदर्शन गर्ने आशासमेत व्यक्त गरे ।
‘जङ्गबहादुर राणाले बेलायतमा नेपालको राष्ट्रिय धुनको रुपमा राजमति कुमति बजाउन लगाएका थिए । खस भाषाकै मात्र आधिपत्य स्थापित गर्न यो इतिहासलाई दबाउन खोजियो तर, राजमानचा कुमानचाले नेपालको सहि इतिहास उजागर गर्नेछ भन्ने विश्वास मैले लिएको छु’ सुनुवारले भने ।
त्यसैगरी वरिष्ठ गायक रंजितले विना कुनै आर्थिक उद्देश्य, नेवाः कला क्षेत्रमा लागि परेका सक्रिय कलाकारहरु देख्दा खुसी लाग्ने बताउनुभयो । साथमा आफुभित्र रहेको प्रतिभा लुकाएर नराख्न पनि रंजितले अनुरोध गरे ।
कार्यक्रमको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन र नेवाः फिल्म सोसाईटीका अध्यक्ष आउँदो भाद्र ३१ गतेको दिनमा राजमानचा म्यूजिकल नाइटको आयोजना गर्ने घोषणा गरे ।
राजोपाध्यायले सोही कार्यक्रममा नेवाः फिल्म डाइरेक्टरी, नेवाः फिल्म कोष र नेवाः फिल्म अवार्डसमेतको घोषणा गरेका थिए ।
कार्यक्रममा राजमानचा गीतका रचनाकार विनय राजाेपाध्याय र गायक प्रचण्ड राजाेपाध्यायले आआफ्नो गीत र अनुभवको बारेमा प्रकाश पारेका थिए ।
त्यसैगरी कन्फराक्टीभ मिडिया सोलुसनका प्रवन्ध निर्देशक रक्षण राजोपाध्याय र नेवाः फिल्म सोसाईटीका सदस्य रुपेन्द्र श्रेष्ठले पनि संस्थाको गतिविधिबारेमा प्रकाश पार्दै आ–आफ्नो भनाई राखेका थिए ।
Categorized in पेजथ्री