arin enterprises

पुष्पलाल स्मृति दिवस मनाईंदै

SamacharDesk | २०७९ श्रावण ७, शनिबार

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ ।

१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल श्रेष्ठको जन्म भएको थियो ।

पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो । पुष्पलाल श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा शहिद गंगालाल श्रेष्ठका सहोदर माइला भाइ हुनुुहुन्थ्यो ।

पुष्पलालले विश्व कम्युनिस्ट घोषणा पत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिनु भएको थियो ।

२००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो ।

उहाँले आफ्नो जीवनको सम्पूर्ण उर्जाशिल सयम खर्चिएर जीवनलाई नै दाउमा राख्दै स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न चरणमा सत्ता र गुटगत स्वार्थमा लागेर अहिले विभिन्न टुक्रामा विभाजन छन ।

पुष्पलालको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो । 

यसैबीच कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस आज डल्लूस्थित पुष्पलाल मेमोरियल पार्कमा मनाइयो ।

सो अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष ओलीले देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गर्नुभयो ।

उहाँले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजले देखाएको बाटोबाट विचलित नहुने प्रण गर्नुभयो ।

अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजने बताउनु भयो । 

४४ औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गर्नुभएको थियो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका उपमेर सुनिता डंगोलसहित नेकपा एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय