‘हितिसँगै तीर्थस्थल पनि मासिँदै गइरहेको’
SamacharDesk – विकाश | २०७६ माघ २४, शुक्रबार

काठमाडौं उपत्यकाका हिति अर्थात ढुङ्गेधारासँगै यहाँको तीर्थस्थल र सँस्कृति मासिँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । काठमाडौं दरवारमार्गस्थित तीनधारामा आयोजित हिति संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले ढुङ्गेधारा संरक्षणमा जोड दिए ।
कार्यक्रममा हितिसम्वन्धी पिएचडि गरेकि सन्ध्या पराजुलिले हिति भनेको पानीको श्रोत मात्र नभई एक तीर्थस्थल नै भएको बताउनुभयो । पानी नआएको भन्दै हितिलाई पुरेर सपिङ कम्प्लेक्स आदि बनाउँदै गएमा यहाँका तीर्थस्थलहरु नै मासिने बताउनुभयो ।
नेपाल सम्वत ५७० को मंगःहितिलाई पहिलो हिति भन्ने गरीएकोमा किराँतकालमै यहाँको हितिहरु बनिसेकेको दावी पराजुलीले गर्नुभयो । ललितपुर च्यासलस्थित नारायणहिति यहाँको पहिलो हिति भएको दावी उहाँको थियो ।
ज्यापु महागुथिका अध्यक्ष राजभाई जकःमिले उपत्यकाका आदिवासी नेवाः समुदायले आफुलाई चाहिने गाँस, बास, कपासदेखि लिएर निसें पिउनको लागि चाहिने पानीको श्रोत समेत आफैले बनाउने गरेको भन्दै पुर्खाको श्रमको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
हिति विशेषज्ञ सुशील श्रेष्ठले वर्षाको पानी संकलन गर्ने प्रविधि भन्दै पश्चिमा मूलुकलाई पछ्याउँदै गरेको समयमा उपत्यकाका आदिवासीले परापूर्वकालमै वर्षे पानीको सदुपयोग गर्ने गरेको कुरा बिर्सन नहुने बताउनुभयो ।
‘अझ पनि वर्षे पानीलाई सदुपयोग गर्दै यहाँका हितिहरुमा पानी झार्न सकिन्छ । जसरी हुन्छ वर्षे पानीलाई जमीन मुनि पठाउनुपर्यो’ श्रेष्ठले बताउनुभयो ।
हिति संरक्षणमा अग्रसर अभियन्ता याद्दवलाल नेवाःले सोर्हखुट्टेलाई यथास्थानबात हटाइ नयाँबजारको एक बृद्धाश्रमभित्र बनाउने तयारी गरिँदा त्यहाँ प्राचीन ढुङ्गेधारा भेट्टिएको र त्यहिँबाट हिति संरक्षणको अभियान शुरु भएको बताउनुभयो ।
दरवारमार्गमा तीनधारा भन्ने स्थानको नाम नै धाराबाट रहन गएको तर त्यहि धारा मास्सिन लाग्दा राज्यले, सम्बन्धित निकायले बेवास्ता गरेको देख्दा दुःख लागेको नेवाःले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले हिति भनेको पानी लिने स्थान मात्र नभएर टोल, समाज भेला भएर अन्तरक्रिया गर्ने थलो समेत भएको बताएका थिए । सर्वसाधारणलाई सरसल्लाह, अन्तरक्रिया गर्न नदिन नै नियोजित रुपमा यस्ता स्थानहरु मास्न थालेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा एक सहभागीले त हिति जिणोद्धार गरेर त्यसलाई प्रयोगमा ल्याउनुपर्यो भनी प्रतिनिधिलाई अनुरोध गर्दा जनप्रतिनिधिले नै हितिमा पानी आयो कि विदेशी दाताबाट अनुदान माग्ने कसरी त भनी प्रश्न गरेको दावी गरे ।
सोही कार्यक्रममा हिति सम्बन्धी पिएचडि गरेकि सन्ध्या पराजुलीलाई सम्मान पनि गरिएको थियो ।
हिति संरक्षणको लागि नागरिकस्तरबाट चरणवद्ध रुपमा विभिन्न कार्यक्रमहरु हुन थालेको छ । गत माघ १८ गते उपत्यकाका विभिन्न हितिहरुको परिक्रमा गर्दै हिति र्याली भएको थियो शुक्रबार हिति संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
Categorized in संस्कृति