आज विश्वभरि प्रेम दिवस मनाईँदै
SamacharDesk – विकाश | २०७६ फाल्गुण २, शुक्रबार

आज १४ फेब्रुअरी । प्रेम दिवसको रुपमा आजको दिनलाई संसारभरि भ्यालेन्टाइन डे मनाईँदैछ ।
आजको दिन विशेष गरेर यूवाहरु आफ्नो प्रेमी, प्रेमीकालाई उपहार साटासाट गर्ने गरिन्छ ।
साथमा अरु दिनमा प्रेम प्रस्ताव राख्न नसकेका प्रेमीले आजको दिनमा प्रेम प्रस्ताव राख्ने गरिन्छ । भ्यालेन्टाइन डेको दिनमा रातो गुलाब उपहार दिएमा प्रेम प्रस्ताव राखेको मानिन्छ ।
अरु दिनमा प्रेम प्रस्ताव राख्न तीन शब्द बोल्न नसकेमा भ्यालेन्टाइन डेको दिनमा रातो गुलाब दिने गरिन्छ । र उक्त रातो गुलाब स्वीकारेमा प्रेम प्रस्ताव स्वीकारेको मानिन्छ ।
भ्यालेन्टाइन डेको ईतिहास
प्रेमको दिनमा रुपमा मनाइने यो सुखद दिनको शुरुवात भने एउटा दुःखद घटनासँग जोडिएको छ ।
भ्यालेन्टाइन डे रोमका पादरी सेन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरिएको हो ।
तेस्रो सताब्दीमा रोममा एक शासक थिए, जसको नाम क्लाउडियस थियो । बिहे गरेमा सैनिकले आफ्नो कर्तव्य पुरापुर निर्वाह गर्न सक्दैन भन्दै आफ्नो राज्यका कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने कानून बनाएका थिए ।
तर, सन्त भ्यालेनटाइन क्लाउडियसको यो कानूनको विरोधमा उत्रिए । सन्त भ्यालेनटाइनले क्लाउडियसको कानूनको विरोधमा गएर केहि अधिकारी र सैनिकको बिवाह गराइदिए ।
जब क्लाउडियसले यो कुरा थाहा पाए सन्त भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश दिए र उनलाई कालकोठरीमा थुनियो ।
आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए ।
मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’
राजाले सन् २६९ १४ फेब्रुअरीका दिन भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा भ्यालेनटाइन डे मनाउन सुरु गरियो ।
भ्यालेन्टाइन सप्ताह
पश्चिमा मूलुकबाट नेपाली समाजमा भित्रिएको भ्यालेन्टाइन डे पछिल्लो समयमा यूवा पुस्तामाझ निकै लोकप्रिय भएको छ । फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाउने गरिएकोमा हाल आएर साताभरि भ्यालेन्टाइन सप्ताह नै मनाउन थालिएको छ ।
यसको सुरुवात रोज डेबाट हुन्छ । फेब्रुअरी ७ मा प्रेम प्रस्ताव राख्दै गुलाब दिइन्छ । यो दिनलाई रोज डे भनिएको छ ।
रोज डेमा विभिन्न रङ्गका गुलाब दिने गरिन्छ । र विभिन्न रङ्गका गुलाबलाई विभिन्न अर्थमा लिने गरिन्छ । सेतो गुलाब परिचयको लागि, पहेँलो गुलाब मित्रताको लागि र रातो गुलाब प्रेम प्रस्तावको लागि दिने गरिन्छ ।
फेब्रुअरी ८ मा आफ्नो प्रेम प्रस्तावलाई प्रेमी, प्रेमीकाको अगाडी राख्ने गरिन्छ । रातो गुलाब दिएर प्रेम प्रस्ताव राखिसकेर यो दिनमा तीन शब्द बोलेर प्रस्ताव राख्दै प्रपोज डे मनाइन्छ ।
फेब्रुअरी ९ मा आफ्नो प्रेमी वा प्रेमीकालाई चकलेट उपहार दिइन्छ । यो दिनलाई चकलेट डे भनिन्छ । रातो गुलाबको साथमा तीन शब्द बोलेर प्रस्ताव गरिएको प्रेममा चकलेट जस्तै मिठास भरियोस् भन्दै चकलेट उपहार दिइन्छ ।
फेब्रुअरी १० लाई टेडि डे भनिएको छ । यो दिनमा मुलायम कपडाले बनाइएको अर्थात सफ्ट डल टेडी बियर उपहार दिइन्छ ।
जीवनभरि साथ दिने बाचा गर्दै फेब्रुअरी १० मा प्रमिस डे र फेब्रुअरी ११ मा अंकमाल गर्दै हग डे मनाइन्छ ।
अघिल्लो दिन अङ्कमाल गरिसकेर फेब्रुअरी १३ मा अझ एक कदम अगाडी गएर आफ्नो प्रेमीलाई चुम्बन दिएर अझ नजिकिने गरिन्छ । फेब्रुअरी १३ को दिनलाई किस डेको रुपमा मनाइन्छ ।
आखिरमा फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ ।
प्रेमी प्रेमीकालाई एक बनाउन आफ्नो जीवनको बलिदान दिने सेन्ट भ्यालेन्टाइनलाई सम्झिँदै आजको दिनलाई प्रेमले भरौं । ह्याप्पी भ्यालेन्टाइन टु अल ।
Categorized in संस्कृति