नर्भिकलाई संरचना हटाउन ३ महिनाको अल्टिमेटम
SamacharDesk | २०७९ श्रावण २४, मंगलबार

नर्भिक अस्पतालले अनधिकृत रुपमा सरकारी जग्गा मिचेर संरचना बनाएकोप्रति महानगरपालिकाले चासो दिएको छ ।
अस्पतालले विगत २०६५ सालदेखि २० वर्षका लागि १ रोपनी ८ आना जग्गा पार्किङको लागि वार्षिक ३५ हजार भाडा तिर्ने गरी अनधिकृत रुपमा सम्झौता गरी भोगचलन गर्दै आएको समाचार सामाजिक सञ्जाल तथा मिडियाहरुमा प्रसारित भएको थियो ।
यसप्रति ध्यानाकर्षण भई महानगरपालिकाका मेयर बालेन्द्र शाह नर्भिक अस्पताल पुगी त्यहाँ निर्मित घरटहरा हटाउन सूचना समेत टाँस गरेको थियो ।
यस विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन हुने भएको छ। प्रमुख साहले नियम सबैलाई बराबर हुनुपर्ने बताउनुहुँदै सार्वजनिक जग्गा, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानुन बराबर लाग्ने बताउनुभयो ।
उहाँले अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको भन्नुहुँदै अस्पताललाई मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा लिजमा दिए पनि जग्गा फिर्ता हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष सिंहले महानगर र अस्पतालका प्राविधिकको समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो। नर्भिक अस्पतालले २०६५ साल जेठ १ गतेदेखि आगामी २० वर्षसम्मको लागि सरकार र नर्भिक अस्पतालबीच सम्झौता भएर उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाई जस्ता उपचारमा अति आवश्यक उपकरण राखेर बिरामीको सेवा गर्दै आएको जनाएको हो।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएको अक्सिजन प्लान्टबाट सय जना बिरामी उपचाररत रहेकाले तत्काल सो संरचना नभत्काइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।
मानन्धरले भन्नुभयो, “महानगर प्रमुख बालेन्द्र साह नर्भिक अस्पताल जानुभएको थियो। बिरामीको उपचार भइरहेकाले अक्सिजन तत्कालै हटाउन नमिल्ने भयो। अब, प्राविधिकले कति समय भन्छ, त्यही अनुसार ती संरचना खाली गरिन्छ।” नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ।
Categorized in राष्ट्रिय