यःसिँ ठड्याइएसँगै सम्यक महादानको विधिवत् शुरुवात
SamacharDesk – विकाश | २०७६ फाल्गुण ९, शुक्रबार

पाँच वर्षमा एकपटक ललितपुरमा आयोजना गरिने सम्यक महादान पर्व यसपालि यही फागुण १४ र १५ गते हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा पर्व हुन लागेको हो ।
आयोजक समितिले बुधबार हिरण्यवर्ण महाविहार गोल्डन टेम्पलमा पत्रकार सम्मेलनको आयोजना गरी पर्व सञ्चालनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो ।
आयोजक समितिका जनसम्पर्क तथा प्रचारप्रसार संयोजक लोकमान शाक्यले आवश्यक तयारीहरु पुरा भई केही तयारी पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।
पत्रकार सम्मेलनको संयोजन नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले गरेको थियो ।
पर्वको पहिलो दिन राति काठमाडौं उपत्यकाका विभिन्न विहार र महाविहारबाट ल्याइएका १ सय २६ देवीदेवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिने छ । फागुण १४ गते बुधबार बेलुकी ७ बजे देवीदेवतालाई पाटन दरवार क्षेत्रमा भेला गरिन्छ ।
सम्यक महादानको अर्थ शुद्ध मनले निस्वार्थ भावनाले र सहि तरीकाले दान दिनु रहेको अध्येयता शाक्यको भनाई थियो
राती १० बजे सम्यक महादान हुने मुख्य स्थान नागबहालमा लगिने संयोजक शाक्यले बताउनुभयो । दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा लगायत देवीदेवताहरुलाई परम्परागत बाजागाजाका साथ इतिहल्हने (नागबहालमा) लगिने उक्त दृश्य हेर्न दर्शनार्थीहरुको घुइँचो नै लाग्ने गर्दछ ।
त्यसको भोलिपल्ट अर्थात फागुण १५ गते विहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (बीस स्थविर आजु) ले विशेष पुजाआजा गरी दान दिने परम्परा रहेको छ । यही दान दिने कार्य नै पर्वको मुख्य सार रहेको सँस्कृति अध्ययेता लोकरत्न शाक्यले बताउनुभयो ।
सम्यक महादानको अर्थ शुद्ध मनले निस्वार्थ भावनाले र सहि तरीकाले दान दिनु रहेको अध्येयता शाक्यको भनाई थियो ।
आयोजक समितिका संयोजक विकासरत्न धाख्वाःले पर्व सञ्चालन गर्न करीब ४० लाख रुपैयाँको आवश्यता पर्ने बताउनुभयो । तर ललितपुर महानगरपालिका १६ वडाबाट रु.२ लाख ५० हजारको सहयोगलाई नै महानगरपालिकाको सहयोग सम्झिनुपर्ने अवस्था रहेको धाख्वाःको भनाई थियो ।
ललितपुरको अमूर्त सँस्कृतिको संरक्षण सम्वर्ध्दनको कुरा ललितपुर महानगरपालिकाको भाषणमै सिमित भएको गुनासो धाख्वाःको थियो ।
नेपाल भ्रमण वर्षकै बीचमा आयोजना हुन लागेको सम्यक महादान पर्वमा विदेशी पर्यटकलाई पर्व अवलोकन र प्रसाद ग्रहणको लागि विशेष व्यवस्था गरिने धाख्वाःले जानकारी दिनुभयो ।
यस पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिईन्छ । सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ ।
वि सं १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सो पर्व १८६२ सालदेखि प्रत्येक पाँच वर्षको एकचोटी सञ्चालन हुन थालेको हो । तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारीकरण गर्न थालेपछि गुठीको आयस्ता कम हुँदै गएर पाँच वर्षको एकचोटी सो पर्व आयोजना गर्न थालिएको हो ।
यस वर्ष ५३औं सम्यक महादान पर्व आयोजना हुन लागेको हो ।
सम्यक महादान सम्बन्धी किम्वदन्ती :
यो पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यस पर्वको शुरुआतसंग एउटा किवदन्ती चलनचल्तीमा रहेको छ ।
ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान भरिभारो निकै गरिब बन्दै गए । आफ्नो दरिद्रता लुकाउन भरिभारोले गोबर जम्मा गर्न थाले ।
भरिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए । धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो ।
धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ ।
सम्यक महादन दिइने समयमा कुनै किसिमको हिनामिना नहोस् भनेर बासुकी र चम्पक नाग आएर सुरक्षा दिने विश्वास रहेको छ । बासुकी र चम्पक नागको यहि गुणको स्मरण गर्दै ती नागहरुको पनि पूजा गर्ने परम्परा रहेको छ ।
यहि क्रममा गत फागुण ६ गते नागबहालमा रहेका वासुकी नागराज र चम्पक नागराजको पुजा गरिएको थियो । साथै विहीबार यःसिद्यः ठड्याउने कार्यक्रम पनि सम्पन्न भएसँगै यसवर्षको सम्यक महादान पर्वको विधिवत शुरुवात भएको छ ।
Categorized in संस्कृति