निर्वाचनमा उम्मेदवारी दिनेहरुको मात्रै चिन्ह राखिने
SamacharDesk | २०७९ भाद्र ६, सोमबार

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारहरुको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिन्ह समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिनुभएको हो ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मतपत्र भद्धा भएको र बदरको सङ्ख्या पनि अधिक भएको कारण सो निर्णय गरेको हो । आयोगले आउँदो निर्वाचनका लागि सङ्घीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ ।
मतदान केन्द्रमा चार वटा अलग अलग मतपत्र, मत सङ््केत, मतपेटिकाको व्यवस्था र निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि आयोगले तयारी गरेको छ ।
यसको स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । यसबारे मन्त्रालय र आयोगबीच छलफल समेत भएको आयोगले जनाएको छ । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । निर्वाचनमा कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान आयोगले गरेको छ ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा अभावमा कुनैपनि निर्वाचन क्षेत्र, बुथमा निर्वाचन बिथोलिए सह्य नहुने चेतावनी दिनुभएको छ ।
निर्वाचन आयोगले ललितपुरमा हिजो गरेको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले चुनावी मिति सिफारिसताका नै निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति खोजेको र सुरक्षाको पूर्ण जिम्मेवारी सरकारको भएको भन्दै निर्वाचन सुरक्षा बल नभई मनोबलले गर्ने विषय भएको जिकिर गर्नुभयो ।
उहाँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनैपनि निर्वाचन क्षेत्रमा पुनःमतदान गर्नुपर्ने अवस्था आउन नदिने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
Categorized in राष्ट्रिय