भव्य रुपमा सम्पन्न भयो इतिल्हने सम्यक
SamacharDesk – विकाश | २०७६ फाल्गुण १५, बिहिबार

हरेक पाँच वर्षमा आयोजना हुने इतिल्हने सम्यक महादान ललितपुरमा सम्पन्न भएको छ ।
‘दिपंकर पर्व’ नामबाट पनि प्रचलित यस महादान परम्परामा शाक्य भिक्षु, बज्राचार्यको साथै ललितपुर, काठमाडौं, भक्तपुर, किर्तिपुर र चोभार लगायत विभिन्न स्थानबाट दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा देवीदेवताको पूजा गर्दै दान दिने गरिन्छ ।
इतिल्हने सम्यक महादान पर्वमा १४९ देवीदेवता रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
दुइ दिन भएको सम्यक महादान पर्वमा बुधवार विभिन्न स्थानबाट ल्याइएको देवीदेवतालाई पाटन मंगलबजारमा भेला गराइएको थियो ।
त्यसपछि हिरण्यवर्ण महाविहार, क्वाबहाल आजुको आगमन, ज्येष्ठवर्ण महाविहारका वसुन्धरादेवी ल्याएर सबै देवीदेवतालाई नागबहालमा लसकुस (विधि अनुसार स्वागत) गरिएको थियो ।
मध्य रातमा पूजा प्रारम्भ भएपछि समस्त देवीदेवतालाई चासि (स्थानीय नेपालभाषा अनुसार रातको खाना) चढाएर विहिवार विहान ३ बजे हिरण्यवर्ण महाविहारका शाक्यमुनि बुद्धको समक्ष महाद्वीप प्रज्वलन गरिएको थियो ।
भूमिशोधन पूजा पश्चात् दशपारमिता आजुहरुबाटं महादान परिसर परिक्रमा सम्पन्न भएपछि ईतिल्हने सम्यक महादान प्रारम्भ गरिएको थियो ।
देवीदेवताको दर्शनको साथै दान दिनका लागि हजारौंका संख्यामा श्रद्धालु भक्तजनहरु नागबहालमा भेला भएका थिए ।
साँझ ४ बजे सम्पूर्ण देवीदेवतालाई आआफ्नो विहारमा लगिएपछि महादान पर्वको विहिवारसम्मको कार्यक्रम सम्पन्न भएको थियो ।
यस पर्वको औपचारिक समापन भने नागबहालमा उठाइएको यःसिं ढालेपछि मात्रै हुने आयोजक संस्थाले जनाएको छ ।
इतिल्हने सम्यक महादान आयोजक समितिका प्रचार प्रसार संयोजक लोकमान शाक्यले शुद्ध मन, निःस्वार्थ भावनाले दान दिनु व सम्यक सम्बोधिको मार्ग नै सम्यक महादान भएको बताउनुभयो । दानपारमिताको अभ्यास यस पर्वको सार भएको शाक्यको भनाई थियो ।
७०० वर्षदेखि निरन्तर चल्दै आएको यो महादान पर्व वि.सं. १८६१ सम्म प्रत्येक वर्ष आयोजना गरिन्थ्यो । त्यसपछि यो पर्व संचालनको लागि राखिएको गुठीको सम्पत्ति राष्ट्रियकरण भएपछि वि.संस १८६२ बाट भने प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको छ ।
यस वर्ष ४७२औं सम्यक महादान पर्व सम्पन्न भएको हो ।
यो लिंक पनि हेर्नुहोला –
यःसिँ ठड्याइएसँगै सम्यक महादानको विधिवत् शुरुवात
सम्यक महादान पर्वका फोटोहरु हेर्नको लागि यस लिंकमा क्लिक गर्नुहोला
Categorized in संस्कृति