मन्त्री श्रेष्ठ र राजदुत हैलबीच पर्यटन सहकार्यबारे छलफल
SamacharDesk | २०७९ भाद्र १३, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ ।
सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुईदेशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।
नेपाल र कतारबीच दौत्य सम्वन्ध स्थापित भएको ४६ बर्ष भइसकेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।
दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उहाँहरुबीच छलफल भएको थियो । आगामी नोभेम्बरमा कतारमाआयोजना हुने २२औँ संस्करणको फिफा विश्वकपप्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि उहाँहरुबीच छलफल भयो ।
नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको राजदुत हैलले बताउनुभयो ।
नेपाल(कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उहाँहरुबीच छलफल भएको थियो ।
सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान संचालन गर्नेबारे पनि छलफल भएको थियो ।
राजदुत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिनुभएको छ ।
Categorized in राष्ट्रिय