निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुल्यो
SamacharDesk | २०७९ भाद्र २६, आइतबार

नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।
आसन्न निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुला गरेको हो । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार उक्त दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् ।
दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघि म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमितका दिइनेछ ।
यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकायमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरूलाई पनि भर्नामा प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।
Categorized in राष्ट्रिय