आजबाट सोह्रश्राद्ध सुरु
SamacharDesk | २०७९ भाद्र २६, आइतबार

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ ।
पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ ।
यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ ।
यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।
दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो ।
यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान दिउसो २ बजेर १९ मिनेटसम्म गरिसक्नुपर्ने बताईएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो अवधिलाई सोह्रश्राद्ध भनिएको हो ।
मानिसहरु मृत्यू भएपछि प्रेतको अवस्थामा पुगिने र त्यहाँबाट मुक्त भएपछि पितृहरुपितृलोकमा निवास हुन्छन् । पितृहरुका राजा यमराज हुन् । पुराणमा उल्लेख भए अनुसार मानिसदेवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् ।
तर भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रैपितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ ।
भारतका चारधाम लगायत नेपालमा वराहक्षेत्र, जनकपुरधाम, मुक्तिनाथ र दामोदर कुण्ड आदिमा तीर्थ गरेपछि सकुन्जेल सम्म श्राद्धकर्म समेतगर्नु पर्दछ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।
Categorized in राष्ट्रिय