उत्पादित विद्युत देशमै खपत गर्ने निर्देशक घिसिङको स्पष्टोक्ति
SamacharDesk | २०७९ आश्विन ४, मंगलबार

नेपालमा उत्पादित विद्युत नेपालमै खपत गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।
मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले विदेशमा विद्युत निर्यात गर्ने प्राधिकरणको उद्देश्य नभएको बताउनु भएको हो ।
उहाँले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गर्नुभयो । उहाँले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो ।
उहाँले नेपालमा नै विद्युत खपत गरी अर्थतन्त्रमा १० गुणा बढी योगदान पु¥याउन सकिने बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताउनु भयो ।
घिसिङले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिव १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताउनु भयो ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गर्नुभयो । उहाँले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताउनु भयो ।
घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताउनु भयो । उहाँले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताउनु भयो ।
Categorized in राष्ट्रिय