arin enterprises

मंगलबार रातिदेखि आचारसंहिता लागू हुने

SamacharDesk | २०७९ आश्विन ११, मंगलबार

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने आयोगले जनाएको छ । आचारसंहिता पालना भएसँगै निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाइको छ ।

यस अवधिमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

यसअघि भदौ १३ गते नै राजपत्रमा प्रकाशित भैसकेको निर्वाचन आचारसंहिताको पालना गर्नु सबैको दायित्व भएको आयोगको भनाई छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सवैले पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

आचारसंहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ ।

त्यस्तै बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य कार्यक्रम गर्न वा नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृत र सञ्चालन गर्न पाउने छैनन् ।

तर सरुवा रोगको महामारी वा प्राकृतिक विपद सिर्जना भएमा आयोगको स्वीकृतिमा त्यस्ता काम गर्न पाइनेछ । साथै कुनै राजनीतिक पदको सिर्जना नियुक्ती भत्ता बृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने पनि आयोगले जनाएको छ ।

निर्वाचनको काम बाहेक निर्वाचन सम्पन्न नभएसम्म सरकारले कर्मचारीको सरुवा समेत गर्न आचारसंहिताले बन्देज गरेको छ । साथै आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि बैदेशिक भ्रमणमा जान समेत सरकार र मन्त्रीहरुलाई बन्देज लाग्नेछ ।

गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेतालाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारे छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

Categorized in राष्ट्रिय