arin enterprises

नेवा समाजमा आलमत

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आश्विन २३, आइतबार

आज असोज पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । नेवार समुदायले आजको दिनलाई कति पुन्हि भनेर मनाउने गर्छन् ।

नेवार समुदायमा नखत्या बोलाउने र नखत्या जाने सँगै टीका लगाउने क्रम आजबाट सम्पन्न हुन्छ । साथमा नेवार समुदायमा आज आलमत राख्ने प्रचलन पनि रहेको छ ।

काठमाडौं उपत्यका लगायत देश र विदेशका विभिन्न स्थानमा बसोबास गरिरहेका नेवारहरुले आजको दिनबाट कार्तिक पूर्णिमासम्म एक महिना आलमत नामक दीप बालेर इन्द्र भगवानलाई बत्ती दिने गर्छंन् ।

स्थानीय नेपालभाषामा आलको अर्थ आकाश हो भने मतको अर्थ दिप वा बत्ती । आकाशमा देखाई बाल्ने दिप भएकोले यसलाई आलमत भनिएको हो । अन्य समुदायमा भने यसलाई आकाश दिप भन्ने चलन छ ।

काठमाडौ उपत्यकाका स्थानीय नेवार समुदायले आजको दिन आ–आफ्नो चोक, लाछि साथै घरको कौसिमा यःसिँ उठाउने गर्छ । नेवार समाजमा ईन्द्रजात्रा, बिस्केट जात्रा लगायत विभिन्न पर्व र जात्राहरुमा यःसिँ उठाउने परम्परा रहेको छ ।

यसरी यःसिँ उठाउने क्रममा विशेष विधि पूरा गरी काटेर ल्याइएको रुखको लामो काठलाई उठाइन्छ । कति पुन्हिको दिनमा यःसिं उठाइँदा प्रायः जसो ठाउँमा बाँसको उठाइन्छ भने कतै रुखकै लामो काठ उठाइन्छ ।

यःसिँ उठाएपछि उक्त बाँस वा काठमा आलमत अर्थात बत्ती राख्न विशेष किसिमको माटोको भाँडो झुन्ड्याइन्छ । यस्तो माटोको भाँडोलाई माथिबाट तल र तलबाट माथि तान्न मिल्ने गरी बाँधेर राखिन्छ । अनि एक हरेक दिन बेलुकी आकाशमा हेरेर बत्ती दिएर उक्त बत्ती सोही माटोको भाँडोमा राखिन्छ ।

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार आलमतः भनेको स्वर्गका राजा इन्द्रलाई बत्ती दिन राखिने हो ।

‘यस्तो आलमतलाई चोकमा वा बारीमा राखिनुपर्ने हो तर हाल घरको कौसीमै बाँस राखेर बत्ती दिने गरेको छ । घरमा राख्दा आफैले मात्र बत्ती र चोक अथवा लाछिमा भए त्यहाँका सबै घरका सदस्यले आलमत राखिएको ठाँउमा आएर बत्ती दिनुपर्ने चलन नेवार समाजमा छ’ संस्कृतिविद् डा. बज्राचार्य बताउँछिन् ।

काठमाडौंको भीमसेनस्थामा भने महिलाहरुले यःसिँ उठाई आलमत राख्ने प्रचलन रहेको छ ।

यसै क्रममा आज पनि काठमाडौं महानरगपालिकाकी उपमेयर सुनिता डंगोलको उपस्थितीमा भीमसेनस्थानमा यःसिँ उठाइएको छ ।

अब वर्षा पुग्यो भनी इन्द्रलाई चिठ्ठि पठाउन घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चंगा उडाउने गरिएको विश्वास छ । नयाँ बालि भित्र्याउने समयमा वर्षा बन्द गरिदिएकाले ईन्द्रलाई धन्यवाद स्वरुप बत्ती दिने गरिएको बुझाई समाजमा रहेको छ ।

कोजाग्रत पुर्णिमाको दिन आलमतः राख्न उठाएको यःसिँ कार्तिक पुर्णिमाको दिन ढालिन्छ ।

Categorized in संस्कृति