बिराजले पाए शहिदकी आमाको आशिर्वाद
SamacharDesk – बिराज | २०७९ कार्तिक १६, बुधबार

आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार बिराजभक्त श्रेष्ठले शहिद निर्गुण स्थापितकी आमालाई भेटेर उनीसँग आशिर्वाद लिएका छन् ।
निर्वाचनको मैदानमा होमिएका उम्मेदवार श्रेष्ठ शहिद स्थापितकी आमा मैयाँ स्थापितसँग आशिर्वाद लिन उनको घर यट्खामा पुगेका हुन् ।
शहिद स्थापित आफ्नो लागि एक आदर्श व्यक्ति भएको बताउँदै श्रेष्ठले आफु देशमा परिवर्तन ल्याउन अगाडी बढ्दा शहिदको परिवारबाट आशिर्वाद लिन आफु यहाँ आएको श्रेष्ठले बताए ।
‘हिजो मैले प्रदेश सभामार्फत केही गर्ने अवसर पाएँ, आज प्रतिनिधि सभामार्फत केही गर्ने सोच लिएर अघि बढ्दैछ । हामीले यस्तो वातावरण पाएको भनेको निर्गुण काका जस्ता शहिदहरुको योगदानकै कारण त हो नि’ उम्मेदवार श्रेष्ठले भने ।
२०४६ सालमा पंचायती व्यवस्थाविरुद्धमा भएको जन आन्दोलनको क्रममा २०४६ चैत्र २४ गते निर्गुण स्थापितले शहादत प्राप्त गरेका थिए ।
साे समयमा आन्दोलनलाई दबाउने क्रममा स्थापितलाई काठमाडौंकाे भोटाहितिमा गोली हानी हत्या गरिएको थियो । त्यसको दुई दिन पछि पंचायती व्यवस्थाको अन्त्य भई बहदुलीय प्रजातन्त्र स्थापना भएको थियो ।
देशमा प्रजातन्त्र स्थापना गराउन आफ्नो जीवन नै बलिदान गर्ने शहिद निर्गुण स्थापितलाई राज्यले उचित सम्मान गर्न नसकेको भन्दै श्रेष्ठले यसको लागि आफुले सक्दो काम गर्ने बताए ।
‘म पदमा भएनि नभएपनि राज्य स्तरबाट निर्गुण काकालाई सम्मान दिलाउन सक्दो काम गर्नेछु । संसदमा नपुगे पनि सडकबाट त काम गर्न सक्छु नि’ श्रेष्ठले भने ।
सो अवसरमा शहिद स्थापितकी आमा मैयाँ स्थापितले श्रेष्ठलाई विजयी होस् भनी आशिर्वाद दिएकी थिइन् ।
Categorized in राजनीति