काठमाडौं महानगरभित्र सहयोग र राहतका कार्यक्रम एकद्वार प्रणालीमा हुने
SamacharDesk – विकाश | २०७६ चैत्र १५, शनिबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरमा कोरोना (कोभिड — १९) संक्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितहरुलाई राहत र सहयोगका कार्यक्रम एकद्वार प्रणाली अनुसार हुने बताउनु भएको छ । मेयर शाक्यले यी सबै कार्यक्रम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एउटै ढोकाबाट हुने बताउनुभयो ।
शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजना गरेको भाइरस संक्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना बिषयक छलफलमा मेयर शाक्यले भन्नुभयो, ‘क्वारेन्टाइनको भौतिक पूर्वाधार महानगरले तयार पार्नेछ । तर हामीसँग पर्याप्त स्वास्थ्य जनशक्ति नभएकोले संघ सरकारले जनशक्ति उपलब्ध गराइदिनु हुन आग्रह गर्दछु ।’
साथै उहाँले सहरमा भएका कोही पनि भोकै नपरुन् भनेर वडामार्फत बेरोजगारको तथ्याङ्क संकलन गरिरहेको बताउनुभयो ।
‘रोजगारी नभएका र श्रमिकहरुले भोकै बस्नु पर्दैन’ मेयर शाक्यले भन्नुभयो —‘रोजगारी नपाएर दैनिक खानपानको अवसर नपाएकाहरुको तथ्याङ्क संकलन गर्न र त्यस्तालाई सहयोग र राहत उपलब्ध गराउन वडालाई पत्राचार गरिसकेका छौं ।’
छलफलको क्रममा केही प्राबिधिक कारणले काठमाडौंको फोहर ल्याण्डफिल साइट जान नसकेको बताउँदै मेयर शाक्यले आजबाट फोहर व्यवस्थापन हुन थालेको पनि जानकारी दिनुभयो ।
सोही छलफलमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोनाको सन्त्रास कम गर्न जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, प्रदेश सभा तथा प्रदेश सभा सदस्यहरुका बीचमा साझा कार्यक्रम आवश्यक पर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालयमा सहयोगका लागि संघसंस्थाहरु आएका छन् । हामी उहाँहरुलाई वडा कार्यालयसँग समन्वय गराइदिन्छौं । वडाको एउटै ढोकाबाट यसको वितरण प्रणाली स्थापना गरौं ।’
महानगरले वडालाई सक्रिय बनाएकोमा प्रशंसा गर्दै दाहालले स्थान पहिचान गरेर क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
छलफलमा नागरिकलाई आवश्यक पर्ने खाद्यान्नलगायतका सुबिधा सकेसम्म घरमै पुर्याउन प्रयास गर्नुपर्नेमा जोड दिइएको थियो ।
एकाध घण्टा मात्र पसल खोल्दा भीड झन धेरै हुने भएपछि बिकल्पमा व्यवस्थापन गर्नुपर्ने प्रदेश सभा सदस्यहरुको सुझाव थियो ।
Categorized in राष्ट्रिय