भारतबाट मिचिएको भूमि र नदिनाला फिर्ता ल्याउन भूमिका खेल्ने नवनिर्वाचित सुवालको भनाई
SamacharDesk – बिराज | २०७९ मङ्सिर ८, बिहिबार

गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर एकबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सन् १९५० को नेपाल भारत सन्धी खारेज गरिनुपर्ने बताएका छन् ।
निर्वाचनको परिणाम सार्वजनिक भएपछि समाचारडेस्कसँग कुरा गर्दै नवनिर्वाचित सभासद् सुवालले सार्वभौम राष्ट्र नेपाल भारतको सुरक्षा छातामा बस्नुपर्ने सम्झौता खारेज गर्न आफुले संसदमा आवाज उठाउने बताएका हुन् ।
‘भारतसँग अनुमति नलिइ नेपालले हतियार खरिद गर्न नपाइने, सीमाना खुला राखिनुपर्ने, यस्तो सन्धी हामीलाई चाहिँदैन । खुला सीमानाकै कारण यहाँको नागरिकताको समस्या भइरहेको छ, यस्तो सन्धी खारेज हुनैपर्छ’ सुवालले भने ।
त्यसैगरी सन् १९४७ को गोरखा भर्ती पनि खारेज गरिनुपर्नेमा सुवालले जोड दिए । केही पैसाको लोभ देखाई बेलायत र भारतले नेपालीलाई अन्य देशमा लडाईँ लड्न पठाउने सन्धी नेपालको हीतमा नरहेको उनको भनाई छ । बरु नेपालीलाई आफ्नै देशमा सैनिक तालीम दिँदा व्यक्तिगत अनुशासन, स्वास्थ्यको साथमा राष्ट्रको सुरक्षामा योगदान हुने उनको भनाई छ ।
साथमा, आफुले यस अघि पनि संसदमा एमसीसी सम्झौता खारेज हुनुपर्ने आवाज संसदमा उठाएको र अब फेरी पनि एमसीसीको खारेजीको लागि सक्रिय भूमिका खेल्ने उनले बताए ।
‘एमसीसी सम्झौता अहिले कार्यान्वयनमा आएकै छैन । आयो भने अमेरिकी सैनिक नेपाल आउनेछ । यस सम्झौताको दफा ५ मा अमेरीकाको कानून र नीति नेपालले पालना गर्नुपर्ने भनेको छ । नेपालले अमेरीकाको नीति र कानून पालना गर्नुपर्ने स्थितीमा नेपाल स्वतन्त्र रहन्छ त ? यो खारेज गरिनुपर्छ’ सुवालको भनाई हो ।
यसको लागि आफुले संसददेखि सदनसम्मै संघर्ष गर्न तयार रहेको सुवालले बताए ।
साथै चेलिबेटी बेचविखन, बलात्कार, हत्या जस्ता अपराध गर्ने अपराधीलाई मृत्युदण्डको व्यवस्था हुनुनपर्नेमा पनि सुवालले जोड दिए ।
‘अहिले सिंहदरवार भ्रष्टाचारको अखडा बनेको छ । चेलीबेटी बेचविखन, हत्या, बलात्कारीलाई संरक्षण सिंहदरवारले दिइरहेको छ । यस्ता अपराधीलाई मृत्युदण्ड दिने कानून नबनाएसम्म अपराध निर्मूल हुन सकिन्न’ सुवालले आफ्नो विचार राखे ।
नागरिकता विधेयक खारेजी, शिक्षा क्षेत्रतर्फ मावि तहको शिक्षा निःशुल्क र अनिवार्य अनि विश्वविद्यालय शिक्षा निःशुल्क बनाउन, प्राय सबैजसो खाद्यान्न भारतबाट आयात गर्नुपर्ने अवस्थामा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन, देशमै रोजगारको वातावरण मिलाउन आवश्यक नीति कानून निर्माणमा पनि आफुले भूमिका खेल्ने उनले भने ।
त्यसैगरी इन्धनकै लागि ठुलो संख्याको रकम विदेशिने अवस्थाबाट मुक्ति पाउन जलविद्युत उत्पादन बढाउँदै राष्ट्रलाई उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन, भारतले मिचेको देशको भूभाग साथै नदिनाला फिर्ता ल्याउन, नेपालीको सम्पत्ति सीमाङ्कन गरी सम्पत्ति नेपालमै राखिनुपर्ने गरी नीति र कानून बनाउनका लागि पनि आफुले संसदमा भूमिका खेल्ने उनले बताए ।
Categorized in राजनीति