arin enterprises

उपत्यकावासीले फेरि मेलम्चीको पानी खान पाउने

SamacharDesk | २०७९ मङ्सिर २३, शुक्रबार

खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान महांकालचौरमा रहेको नोजल खुल्ला गरेपश्चात काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण भएको छ ।

मेलम्ची खानेपानी आयोजनामा गत वर्ष वर्षाका कारण क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी तत्कालका लागि अस्थायी रुपमा वितरण गर्न लागिएको हो ।

अहिले दस वटा पोखरीमा पानी हालेर वितरण थालिएको हो । महांकाल, बालाजु, बाँसबारी, पानीपोखरी, मीनभवन, अनामनगर, कीर्तिपुर, मध्यपुर, कटुञ्जे र खुमलटारका पोखरीहरुबाट पानी वितरण थालिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

यी पोखरीबाट तत्काल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ । केही दिनभित्रै मेलम्चीको पुरै १७ करोड लिटर पानी काठमाडौं आइपुगेपछि यी क्षेत्रहरुमा चौविसै घण्टा आलोपालो गरी पानी वितरण हुने पनि केयुकेएले जनाएको छ ।

हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ भने मेलम्चीसहितको पानी थपिँदा करीब ३० करोड लिटर आपूर्ति हुने छ । मेलम्चीको पानी आगामी वर्षायामसम्म नियमित रुपमा वितरण हुने बताइएको छ ।

यसै अवसरमा आयोजित कार्यक्रममा कखानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको छ ।

मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताउनु भयो ।

मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताउनु भयो ।

उहाँले अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउनसक्ने पनि बताउनु भयो ।

Categorized in राष्ट्रिय