arin enterprises

उपत्यकाको फोहोर एक साता नउठ्ने

SamacharDesk | २०७९ पौष ८, शुक्रबार

काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइटको बाटो मर्मत गर्नुपर्ने भएकाले आजदेखि एक सातासम्म फोहोर नउठ्ने जनाएको छ ।

महानगरले उक्त अवधिभर अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।

महानगरपालिकाले आज सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न अपिल गरेको हो ।

आगामी एक साता उपत्यकाका १८ वटै स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकेको छ । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी ल्याण्डफिल साइट पुग्ने गरेका थिए ।

उपत्यकाबाट हरेक दिन एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाका गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर लैजाने गरेकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

Categorized in राष्ट्रिय