कोभिड–१९बाट सुरक्षित रहन सरसफाईकर्मीलाई पिपिई
SamacharDesk – विगेन तुलाधर | २०७६ चैत्र २१, शुक्रबार

कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको समयमा पनि नगरको सरसफाईको काममा जुटेका सरसफाइकर्मीहरुको लागि पिपिई वितरण गरिएको छ ।
काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत ५०० सुरक्षाकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा उपकरण पिपिई वितरण गरिएको हो ।
कामपा र कीनपासँगको साझेदारीमा गैर सरकारी संस्था गुथिद्वारा वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा यी २ नगरपालिकामा कार्यरत ५०० सरसफाईकर्मीहरुको लागि ग्लोभ, मास्क, सुरक्षा पोशाक लगायतका व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण गरिएको हो ।
सरसफाईकर्मीहरुलाई प्रयोग गर्नका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण दुवै नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
सरसफाईकर्मीहरुका लागी व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा कृतग्यता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भन्नुभयो ‘आज प्रदान गरिएका व्यक्तिगत सुरक्षात्मक उपकरणले महामारीको समयमा अस्पतालजन्य फोहर व्यवस्थापन गर्न सुरक्षा प्रदान गर्नेछ । सरसफाईकर्मीहरुले यस पोशाकलाई अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ र सामान्य अवस्थामा पनि ग्लोभ, मास्क आदि सुरक्षात्मक सामग्रीको प्रयोगलाई निरन्तरता दिनुुपर्नेछ ।’
सोही क्रममा कामपा मेयर शाक्यले हाल सरकारले अत्यावश्यक सेवामा कार्यरत कामदारहरुका लागी २५ लाखको स्वास्थ्य बिमाको व्यवस्था गरेको जानकारी दिनुभयो । सरसफाईको अनौपचारिक क्षेत्रमा रहेर पनि हाल महामारीको समयमा कार्यरत सरसफाईकर्मीहरुका लागी पनि यो व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले पहल गर्ने उनको भनाई थियो ।
‘कोभिड–१९को महामारीको समयमा सरसफाईकर्मीहरुले उपलब्ध सुरक्षा पोसाक अनिवार्य रुपमा लगाउनुपर्छ र सरसफाईमा विशेष ध्यान दिनुपर्छ । नगरपालिकाले यसको अनुगमन गर्नेछ र यस कार्यमा आवश्यक सहयोग प्रदान गर्नेछ’ कीर्तिपुर नगरापालिकाका मेयर रमेश महर्जनले भन्नुभयो ।
काठमाडौं महानगरपालिकाका प्रवत्ता इश्वर मान डंगोलले हाल महामारीको भयावह अवस्थामा सरसफाईकर्मीको सुरक्षा र नगरबासीहरुको स्वास्थ्यको विषयमा नगरपालिका निकै गम्भीर रहेको बताउनुभयो ।
फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्याङ्कका अनुसार काठमाडौ उपत्यकामा नगरपालिका र ६५ सरसफाई कम्पनी अन्तरगत २५०० सरसफाईकर्मी कार्यरत छन् । देशभरीको तथ्याङ्क हेर्ने हो भने देशभर ६००० भन्दा बढी सरसफाईकर्मी नगर सरसफाईमा कार्यरत छन् ।
‘अहिलेको प्रतिकुल समयमा हाम्रो संघसँग आवद्घ मजदुर सरसफाईकर्मीको स्वास्थ्य र सुरक्षाको जोखिम रहेको छ । लकडाउनको समयमा फोहर संकलन नगर्ने हो भने फोहरबाट उत्सर्जन हुने विभिन्न समस्याले संक्रमणको अर्काे खतरा रहन्छ’ फोहरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्यले भन्नुभयो ।
यस्तो सुरक्षा पोसाक काठमाडौ उपत्यकाका सबै सरसफाईकर्मीहरुलाई नगरपालिकाले उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै सरसफाई गर्ने क्रममा संक्रमण हुन गएमा प्राथमिकताका साथ उपचार हुने प्रतिबद्घता सरकारले व्यक्त गर्न आचार्यले आग्रह गर्नुभयो ।
फोहरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले सडकको फोहर उठाउन काममा जाँदा कामदारलाई प्रहरीले नआइज भनि फिर्ता पठाएको र हात समेत हालेको भन्दै सरसफाइकर्मीको समस्यालाई स्थानिय सरकारले सम्बोधन गरिदिन आग्रह गर्नुभयो ।
गैर सरकारी संस्था गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने अहिलेको महामारीको अवस्थामा महानगरपालिकामार्पmत सुरक्षा सामग्री उपलब्ध गराउनुको उद्देश्य सरसफाईकर्मीहरुको पेशालाई सुरक्षित गराउनु रहेको प्रष्ट पार्नुभयो ।
सरसफाई एक अत्यावश्यक सेवा हो जसको अभावमा नगरको वातावरण स्वच्छ रहदैन र यसले थप रोग र महामारी निम्त्याउँछ ।अहिलेको संक्रमणकालमा नगर सफा राखी जनस्वास्थ्यलाई सुरक्षित गर्ने सरसफाईकर्मीहरुको स्वास्थ्यको सुरक्षा सुनिश्चित गरी उनीहरुलाई काम गर्ने वातावरण बनाउन अत्यन्त जरुरी छ ।
Categorized in राष्ट्रिय