विदेशीको लागि चीन पूर्ण रुपले खुल्दै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष १३, बुधबार

शुन्य कोभिड नीति लिएको चीन विदेशी नागरिकहरूका लागि समेत पूर्ण रुपमा खुल्ने भएको छ । कोभिड महामारीविरुद्ध कडा नियम पालना गर्दै आएको चीनले मंगलबार एक घोषणा गर्दै आफ्नो देश विदेशीहरूको लागि जनवरी ८ देखि पूर्णरुपमा खुल्ने जनाएको हो ।
कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण तीब्र रुपमा फैलिरहेको बताइए पनि ‘शून्य कोभिड नीति’ अन्तर्गत लगाइएका प्रतिबन्धहरू पछिल्लो दिनमा चीनले क्रमश हटाउँदै आएको छ । पूर्णरुपले खुल्ला भएपनि चीन प्रवेश गर्ने विदेशीहरु अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्नेछ ।
सन् २०२० को मार्चदेखि चीन प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइएको थियो । सुरुवातमा तीन साता क्वारेन्टिनमा बस्नुपर्ने नियमलाई पछिल्लो समय पाँच दिनमा झारिएको छ । विश्वका प्रमुख अर्थतन्त्रमध्ये कोरोनासँगै बाच्ने नीति लागु गर्ने चीन पछिल्लो देश हो ।
पछिल्ला समय चीनका केहि सहरमा कोरोनाको नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ तीव्र रुपमा फैलिएको कारण अस्पतालहरूमा भीड बढेको जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने चीनका अस्पतालहरू संक्रमितले भरिन थालेका बताइरहेको छ ।
संगठनको आपत्कालीन विभागका प्रमुख माइकल र्यानले ‘चिनियाँ अस्पतालका आईसीयू भरेको र अस्पतालमा बेड पाउन पालो कुर्नुपर्ने अवस्था आएको जनाएका थिए । तर चीनले भने हाल संक्रमणदर बढेको भएपनि मृत्युदर भने नबढेको चिनियाँ अधिकारीहरूको भनाइ छ ।
चीनको राजधानी बेइजिङमा दैनिक ४ हजारको हाराहारीमा संक्रमित हुने गरेको जनाइएको थियो । तर चीनको सरकारी निकायले केहि दिनयता कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्न छोडेको कारण संक्रमित र ज्यान गुमाएकाहरूको संख्या भने थाहा हुन सकेको छैन् ।
डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण चिन्ताजनक भएको बताउँदै संक्रमणको गम्भीरता, अस्पताल भर्ना दर र आईसीयूको आवश्यकताबारे तथ्यांक उपलब्ध गराउन चीन सरकारसँग आग्रह गरेका थिए ।
तीन वर्षदेखि चीनले भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन ।
चीनले कोरोनाविरुद्धको आफ्नै देशमा उत्पादन गरेको खोप प्रयोग गर्दै आएको छ । तर उक्त खोप अन्य देशमा उत्पादित खोप भन्दा कम प्रभावकारी भएको विज्ञहरूको आशंका छ ।
चीनले लागु गरेको ‘शून्य कोभिड नीति’ ले अर्थतन्त्रमा नकारात्मक असर परेको र जनजीवन नराम्ररी प्रभावित भएको भन्दै गत नोभेम्बरमा चिनियाँहरूले राष्ट्रपति सी चिनफिङविरुद्ध प्रदर्शन गरेका थिए ।
विश्वका अधिकांश देशले ‘कोरोना सँगसँगै बाँच्ने’ नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो । जसका कारण चीन सरकारले गत डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित प्रतिबन्धहरू हटाएको हो ।
पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्धहरू जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि राष्ट्रपतिविरुद्धको प्रदर्शन चर्केको थियो । उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, लगायतका सहरमा फैलिएको थियो ।
आउँदो जनवरी ८ देखि भने कोरोनालाई ‘ए’ वर्गको संक्रामक रोगबाट ‘बी’ वर्गमा झारिने भएको छ । यसको अर्थ अब यो रोगबाट संक्रमित व्यक्तिहरू क्वारन्टिनमा बस्न अनिवार्य भने हुने छैन ।
Categorized in अन्तर्राष्ट्रिय