arin enterprises

एमडीएमएस प्रणाली नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

SamacharDesk | २०७९ पौष १५, शुक्रबार

नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा आजदेखि लागू हुने गरी एमडीएमएस प्रणाली सुरु गरेको थियो । तर त्यो प्रणाली हाल आएर अलपत्र हुने संभावना बढेको छ ।

प्राधिकरणले भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने गरी एमडीएमएस लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसमा हस्तक्षेप गरेपछि उक्त नीति अलपत्र पर्ने संभावना बढेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने जनाएको हो ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जनाएको थियो ।

तर प्रधानमन्त्री दाहालले विदेशबाट आउने नेपालीहरुले ल्याउने मोबाइलमा कर नलगाउन निर्देशन दिएपछि हाललाई सो प्रणाली लागू् हुने सम्भावना कम देखिएको हो ।

प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले एक भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशतसम्म भन्सार कर लिने नियम लागू गरेकोमा प्रधानमन्त्री दाहालले त्यस्तो नियम लागू नगर्न निर्देशन दिनुभएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले विदेशबाट पठाएको रेमिट्यान्स जतिसुकै पठाएपनि त्यो मान्य हुने तर आफ्नो परिवारजनका लागि प्रयोजनस्वरुप केही थान मोबाइल ल्याउन नपाइने भन्दै प्राधिकरणको नियमको विरोध गर्दै “नो रेमिट्यान्स” ह्यासट्याग चलाएपछि प्रधानमन्त्री दाहालले पूर्ववत् सुविधा कायम राख्न निर्देशन दिनुभएको हो ।

प्राधिकरणले भन्सारमा दर्ता नभई आएका सेटहरु आजदेखि नचल्ने र अब उप्रान्त त्यस्ता फोनहरु दर्ता पनि नगर्ने बताएको थियो ।

विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्धेश्यले प्राधिकरणले यस्तो नीति लागू गरेको हो ।

Categorized in राष्ट्रिय