काठमाडौँ महानगरबाट १० हजार ५ सयलाई राहत
SamacharDesk – विकाश | २०७६ चैत्र २४, सोमबार

काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगपालिका भित्र वसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तिव्रता दिएको छ ।
केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको काठमाडौँ महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यलाई तिव्रता दिएको हो । शनिबारसम्म काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ ।
‘शनिवारसम्म ३२ वटै वडामार्फत २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भन्नुभयो, ‘अभिभावक नभएका, आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौँ ।’
संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा दैनिक ज्याला मजदुरी गर्दै आएका श्रमिक लगायत पनि मापदण्ड भित्र रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी महानगरपालिकाले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाई पनि तिव्र रुपमा अघि बढाएको ढकालले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ४३औं नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको थियो । त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिएको उहाँले बताउनुभयो ।
यसै बीच, वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तिव्रता दिएका छन् । वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जनकारी दिनुभयो ।
उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ । अध्यक्ष विष्टका अनुसार आइतबार मात्रै ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन् । उक्त वडाले ६ स्थानबाट राहत वितरण गर्दै आएको छ ।
वडा १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेको बताइएको छ । वडा १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ । वडा २७ ले पनि समस्यामा परेका करीब ७ सयलाई खाना खुवाउने काम गरेको छ ।
त्यसैगरी वडा ५ ले ९ सय बढी र वडा ११ ले ६ सय बढीलाई राहत वितरण गरेको छ । वडा १४ ले पनि ७ सय बढीलाई राहत वितरण गरेको छ । यता वडा ३१ ले ओम बाडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ ।
आलोकनगरमा ३० परिवार र देउराली क्लवबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले जानकारी दिनुभएको छ ।
वडा १३ को राहत वितरण कार्यक्रमको अनुगमनका लागि काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य आफैं पुग्नुभएको थियो । संघीय संसद, जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र वडाध्यक्ष ध्रुवनारायण मानन्धर पनि राहत वितरण कार्यक्रममा सहभागी हुनुभएको थियो ।
यो वडा कालीमाटी तरकारी बजार भएको क्षेत्र हो । सो वडामा एकै दिन २ सय ५० बढीले राहत लिएका थिए ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको वडा १५ ले पनि आइतबारसम्ममा ६ सयलाई राहत वितरण गरेको छ । प्रवक्ता डंगोलले करीब १३ सयको बिवरण संकलन गरेको जानकारी दिनुभयो ।
मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणको कामलाई तिव्रता दिएको छ । राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदयचुडामणि बज्राजार्यले जानकारी दिनुभयो ।
वडा २१ को राहत वितरणको सुरुवात मेयर शाक्यले नै गर्नुभएको थियो । सो वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ । त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ ।
वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिनुभएको छ ।
काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकोले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उहाँको भनाई छ ।
उहाँले राहत वितरणको पहिलो दिनमै २ सय ९७ जनालाई राहत वितरण गरेको जानकारी दिनुभयो । उहाँले आइतबारसम्ममा ५ सय ६० ले राहत पाएको जानकारी दिनुभयो ।
सामाजिक दुरी कायम राख्दै वडाबाटै राहत वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय