‘सीमानाकामा रोकिएका नेपालीलाई सुरक्षित नेपाल ल्याइनुपर्छ’
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र २६, बुधबार

क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सीमापरि रोकेर राखिएका नेपालीहरुलाई व्यवस्थित तरीकाले नेपाल भित्र्याउनुपर्ने बताउनुभएको छ । संक्रमण फैलिरहेको भारतमा रोकेर राख्नुभन्दा ती नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टिनमा राखिनुपर्ने डा. श्रेष्ठको भनाई छ ।
समाचारडेस्कसँग कुराकानी गर्दै डा. श्रेष्ठले भन्नुभयो, ‘सीमापारी रोकेर राखिएका नेपालीलाई सुरक्षित तरीकाले भित्र्याएर क्वारेन्टिनमा राखिनुपर्छ । उनीहरुलाई त्यसरी भारतमा रोकेर राख्नु देशको लागि झन घातक हुनेछ ।’
आफ्नै देशको नागरिकको सुरक्षाको जिम्मेवारीबाट राज्य यसरी पन्छिन नमिल्ने भन्दै यदि उनीहरुलाई सुरक्षित तरीकाले नेपाल आउन नदिने हो भने लुकिछिपि आउँदा यहाँ संक्रमणको जोखिम बढ्नसक्ने श्रेष्ठले बताउनुभयो ।
समस्याको समयमा राज्यले बेवास्ता गरिदिएमा विद्रोहको भावना समेत पैदा हुनसक्ने उनको भनाई थियो ।
हाल सर्वसाधारणलाई स्वास्थ्य सेवामा अप्ठ्यारो परिस्थिती बनेको भन्ने प्रश्नमा डा. श्रेष्ठले भन्नुभयो, ‘अहिलेको अवस्थामा कुनै पनि विरामी सकेसम्म अस्पताल नआउनु राम्रो, यो सबैको सुरक्षाको लागि नै हो । तर नभइ नहुने अवस्थामा क्षेत्रपाटी अस्पतालमा ओपिडि बन्द भएपनि इमरजेन्सी सेवा र फिवर क्लिनिक संचालनमा रहेको छ ।’
वर्तमान परिवेशमा जोखिम मोलेर अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सकको लागि राज्यले ध्यान दिनुपर्ने उहाँको भनाई छ । स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण लगायतका सामग्री चिकित्सकलाई उपलब्ध गराइनु उपचारको वातावरण मिलाउनेतर्फ राज्य निरन्तर सक्रिय रहनुपर्ने श्रेष्ठले बताउनुभयो ।
स्थानीयमा संक्रमण सरेर कोरोना संक्रमणको दोश्रो चरणमा पुगेको अवस्थामा नेपालीहरु अहिले निकै सतर्क रहनुपर्ने श्रेष्ठले भन्नुभयो ।
महामारी भएमा नेपालले ठेग्न नै नसक्ने अवस्था औंल्याउँदै डा. श्रेष्ठले सर्वसाधारणले समय समयमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, अनावश्यक घरबाट ननिस्किने गरेमा संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न टेवा पुग्ने बताउनुभयो ।
चाइनामा शुरुको समयमा लकडाउनलाई वास्ता नगरिँदा नै महामारीको रुप लिएको उदाहरण दिँदै श्रेष्ठले यहाँ पनि बेवास्ता गर्ने हो भने स्थिती भयावह हुनसक्ने सम्भावना औल्याउनुभयो ।
डा.मनोजमान श्रेष्ठसँगको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
Categorized in राष्ट्रिय