एक घर एक रक्तदाता अभियानले रगत मौज्दातमा सुधार
SamacharDesk – हेल्थ ब्यूरो | २०७६ चैत्र २९, शनिबार

कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाडौं जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ ।
यसै क्रममा नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा काठमाडौं ढोकाटोल निवासी जेन शाहिको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत रगत संकलन गरिएको छ ।
यस क्रममा कामपा १९ वडाको इनायटोल, ढोकाटोल, ताम्सीपाखा, नरदेवी र ढल्कोका १८ जना स्थानीयले रक्तदान गरेका थिए ।
‘लकडाउनको समयमा रगतको अभाव भएको फेशबुकमार्फत जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गर्यौं’ जेन शाहीले बताए, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं ।’
सो अपिललाई सहर्ष स्वीकार्दै स्थानीयले घरदैलो मै रक्तदान गरेको शाहीले बताए।
‘यस्तो महामारीको अवस्थामा रगतको अभावले कसैले ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको अयोजना गरेको हो’ शाहीले स्पस्ट पारे ।
पहिलो पटक रक्तदान गर्नुहुने ३० बर्षीय निरज महर्जनले अबबाट नियमित ३/३ महिनामा रक्तदान गर्ने भन्दै रक्तदानको आवश्यकतालाई अझ व्यापक प्रचार प्रसार गर्नुपर्नेमा आयोजकले ध्यान दिनु पर्ने बताउनुहुन्छ ।
यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिपूर्वक रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले बताउनु भयो ।
प्रत्येक घरपरिवारवाट एक जनाको दरले नियमित रक्तदान गर्ने हो भने हालको अभाव सामान्य हुने शाहीले बताए ।
‘एक घर एक रक्तदाता’ अभियानले अहिले महामारीको त्रासको अवस्थामा पनि व्यापकता लिएको देखिन्छ’ उपशाखाका सचिव प्रकाश अमात्यको भनाई थियो । ‘सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर दैलोमा रगत संकलन गरिने हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी गर्नेछ’ अमात्यले उत्साहित हुँदै भने ।
तर यसको निरन्तरतातर्फ रहेको चुनौति औंल्याउँदै सचिव अमात्यले प्रत्येक रक्तदातालाई प्रत्येक तीन महिनामा नियमित रक्तदान गराउन प्रोत्साहन गराईने रणनिति भएको बताउनुभयो ।
पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ ।
यो अभियान गत साताको शुक्रवारदेखि संचालनमा आएको हो र सामुहिक प्रयासबाट हाल भक्तपुर ब्लड बैकमा १००० युनिट रगत मौज्दात रहेको जानकारी रक्त संचार केन्द्रका प्राविधिक दामोदर मूनकर्मीले दिनुभयो ।
आगामी दिनहरुमा दिनहुँ २०० युनिट रगत संकलन भैदिए उपत्यकामा रगतको अभाव नहुने बताइएको छ ।
लकडाउनको समयमा रगतको अभाव हुन नदिन भएको यस ‘एक घर एक रक्तदाता’ अभियान अन्तर्गतको रक्तदानमा १८ जनाले आफ्नो रगत दान गरेका थिए । थप ११ जनाको स्वास्थका कारण रक्तदान गर्न अनुपयुक्त देखिँदा फर्काइएको थियो ।
Categorized in समाज