arin enterprises

शिक्षामन्त्रीको पुत्ला दहन

SamacharDesk | २०७९ माघ १३, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियुका विद्यार्थी नेताले रत्नराज्य क्याम्पसअगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् ।

हिजो मात्रै शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गर्नुभएको थियो ।

मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै सूचना निकालेको थियो ।

गत कात्तिकमा कक्षा १–३ सम्मको छपाइको निजीलाई दिनेगरी प्रस्ताव केन्द्रले मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले फिर्ता पठाइदिएको थियो ।

केन्द्रले सच्याएर कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पठाएपछि मन्त्रालयले स्वीकृति दिएको हो ।

सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले बिरोध जनाएका हुन् ।

उनीहरुले  जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाएका छन् ।

मन्त्रालयलले भने हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको दावी छ ।

Categorized in राष्ट्रिय