नेपालभाषाको चलचित्र तिबःको छायाङ्कन अमेरीकामा
SamacharDesk – बिराज | २०७९ माघ २४, मंगलबार

हाल निर्माणाधीन नेपालभाषाको सामाजिक कथानक चलचित्र ‘तिबः दि सपोर्ट’ को केही दृश्यहरुको छायाङ्कन अमेरिकामा सम्पन्न भएको छ । नेपालको छायाङ्कन सम्पन्न गरेको चलचित्रको केही महत्त्वपूर्ण दृश्यहरुको छायाङ्कन अमेरीकाको मेरिल्यान्ड राज्यमा गरिएको हो ।
कथावस्तुको माग अनुसारका केही दृश्यहरुको छायाङ्कन अमेरीकामा गरिएको चलचित्रका निर्देशक रवि सायमिले जानकारी गराए ।
अमेरिकाको छायाङ्कनको लागि आवश्यक व्यवस्थापन अमेरिकास्थित दि हिमालयन भाइब्ज समूहले गरेको हो । अमेरीकामा बसोबास गर्दै आएका रोशन श्रेष्ठको छायाङ्कन निर्देशनमा अमेरीकाको सुटिङ सम्पन्न गरिएको बताइएको छ ।
अमेरिकामा गरिएको दृश्यमा कलाकार दिवाकर धौभडेल, मिला श्रेष्ठ र रवि शाक्यले अभिनय गरेका छन् ।
दि हिमालयन भाइब्सको सहयोग विना अमेरिकामा छायाङ्कन सम्भव नै नभएको भन्दै चलचित्रका निर्माता सर्जु रंजित, समिता रंजित श्रेष्ठ र निर्देशक रवि सायमिले आभार व्यक्त गरे ।
नेपालमा चलचित्र छायाङ्कन काठमाडौं उपत्यकाका विभिन्न स्थानको साथमा चन्द्रागिरी र चित्लाङ्गमा पनि गरिएको छ भने एउटा गीतको छायाङ्कन सोलुखुम्बुमा समेत गर्ने योजना रहेको निर्देशक सायमि बताउँछन् ।
ओमशंकर श्रेष्ठको कथा रहेको चलचित्रको पटकथा शुसिल राजोपाध्याय, ओमशंकर श्रेष्ठ र रवि सायमिले लेखेनका छन् । त्यस्तै राजेन्द्र महर्जन, ओमशंकर श्रेष्ठ र संघरत्न शाक्यको रचनामा भूपेन्द्र बज्राचार्य र शिव शाहीको संगीत रहेको छ ।
चलचित्रमा सुशिल राजोपाध्याय, सरस्वती मानन्धर, कृष्ण भक्त महर्जन, आशाकाजी थकू, सुनिता श्रेष्ठ, संघरत्न शाक्य, मनोज महर्जन, सृष्टि महर्जन लगायतका कलाकारको अभिनय रहेको छ ।
