arin enterprises

काठमाडौंमै देखियो कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७७ बैशाख २, मंगलबार

काठमाडौंमै दुइ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो आरडिटि प्रविधिबाट विभिन्न व्यक्तिहरुको सनसिटि अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोनाको एन्टिबडि पोजेटिभ देखिएको थियो । आमाछोरा र बुहारीको थप परिक्षणको लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

आज गरिएको परिक्षणमा तीन जनामध्ये आमा र छोराको रिपोर्ट पोजेटिभ आएको हो । ५८ वर्षीय छोरा र ८१ वर्षीया आमाको परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।

एकजनाको रिपोर्ट आउन बाँकि रहेको र परिक्षणको क्रममै रहेको बताइएको छ ।

संक्रमित व्यक्तिहरु गत चैत्र ४ गते बेलायतबाट फर्केको बताइएको छ ।

उनीहरुलाई हिजो आरडिटि किटबाट पोजेटिभ देखिने वित्तिकै पाटन अस्पतालको आइसोलेनमा राखिएको थियो । सबैको उपचार पाटन अस्पतालमै भइरहेको जनाइएको छ ।

हाल सनसिटि अपार्टमेन्टलाई सिलबन्डि गरिएको छ भने कसैलाई पनि भित्र बाहिर गर्न दिइएको छैन । सनसिटि अपार्टमेन्टमा रहेका सबैजनाको परिक्षण गर्ने तयारी भइरहेको बताइएको छ । उक्त अपार्टमेन्टमा ५ सय १० परिवार बस्दै आएका छन् ।

आज भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले आज संक्रमण पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङ शुरु भइसकेको बताउनुभयो ।

आरडिटि टेस्टलाई अब विदेशबाट नेपाल आउनेहरुमा केन्द्रित गरी परिक्षण तीब्र बनाइने डा. देवकोटाको भनाई हो ।

आज थप दुइ जना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । तीमध्ये चाइनाको वुहानबाट फर्केका पहिलो संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

बाँकि १५ जनाको नेपालको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २, धौलागिरिी अस्पताल बागलुङमा २ जना, सेती अस्पताल धनगढीमा ५ जना र नारायणी अस्पताल वीरगंजमा ४ जनाको उपचार भइरहेको छ । उपचाररत सबैजनाको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले हालसम्म नेपालभरिमा ६२९९ जनाको परिक्षण भइसकेको जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा ५८४ वटा परिक्षण भएको उनको भनाई थियो ।

यसैबीच नेपाल सरकारले हाल जारी लकडाउनलाई बैसाख १५ सम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् वैठकले वैसाख १५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

Categorized in राष्ट्रिय