arin enterprises

‘किर्तिपुर वासिन्दाको माग जायज’

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ३, बुधबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले किर्तिपुरमा गर्भवती महिलाको प्रकाशित समाचारको सम्वन्धमा किर्तिपुरवासीको माग जायज रहेको बताउनुभएको छ ।

एक ठाउँबाट अर्को ठाउँमा जाँदा क्वारेन्टाइनमा बस्नुपर्ने भनेर राज्यले नै परिपत्र जारी गरेको अवस्थामा बाहिर जिल्लाबाट आएको व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने किर्तिपुरवासीको माग जायज रहेको बताउनुभयो ।

गत चैत्र ३० गते आइतबार किर्तिपुर १० मा डेरा गरी बसेका एक गर्भवती महिलालाई घरधनीले जवर्जस्ती कोठाबाट निकालेको समाचार विभिन्न अनलाइन पोर्टलहरुमा प्रकाशित भएको थियो ।

वागलुङ जैमिनि नगरपालिका निवासी गर्भवती देवी शर्मा र जाजरकोटमा अध्यापन गराउँदै आएका उनका पति वैकुण्ठ शर्मा कोहलपुर अस्पतालबाट एम्बुलेन्समा बसी किर्तिपुर आइपुगेका थिए ।

किर्तिपुरमा बहिनी वविता आचार्यले भाडामा लिएको कोठामा उनीहरु बस्न आउँदा महामारी फैलिरहेको अवस्थामा किर्तिपुरवासीले उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने माग गरेका थिए ।

त्यसपछि स्थानीय वासीन्दा, प्रहरी प्रशासन र जनप्रतिनिधि समेतको पहलमा त्रिभुवन विश्वविद्यालयमा बनाइएको क्वारेन्टाइनमा राख्न लगिएको हो ।

यस घटनालाई लिएर विभिन्न अनलाइन पोर्टलहरुले डेरामा बसेकी गर्भवती महिलालाई घरधनीले जवर्जस्ती निकालेको भन्दै समाचार प्रकाशन गरेको थियो । 

‘समाचार पूर्वाग्रही र एक पक्षीय ढङ्गले लेखिएको देखिन्छ । लकडाउनको समयमा कोहलपुरबाट किर्तिपुर आएकालाई क्वारेन्टाइनमा बस्नलाई भनिनु गलत जस्तो मलाई लागेन’ उपत्यका मेयर फोरमका संयोजक समेत रहेका कामपा मेयर शाक्यले भन्नुभयो ।

स्थानीय सरकारले जिम्मेवारी लिएर व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्न लगिँदा एक पक्षीय ढङ्गले सामाजिक सद्भावमा खलल पुग्ने किसिमले समाचार प्रकाशन गरिएको भन्दै मेयर शाक्यले निष्पक्ष, सन्तुलित र सामाजिक सद्भाव कायम राख्ने किसिमले कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

यसै सम्वन्धमा किर्तिपुर नगरपालिका वडा १० का वडाध्यक्ष अमन महर्जनले पनि विज्ञप्ति जारी गरी समाचारको खण्डन गरिसकेका छन् ।

Categorized in राष्ट्रिय