अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७९ फाल्गुण ९, मंगलबार

आज फेब्रुअरीको २१ तारीख, विश्वभरीमा मातृभाषी तथा मातृभाषा प्रेमीहरु विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदैछन् ।
यसै सन्दर्भमा नेपालमा पनि विभिन्न आदिवासी जनजाती समुदाय लगायत मातृभाषीहरु विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन् ।
यूनेस्कोले सन् १९९९ लाइ विशेष दिनको रुपको रुपमा स्वीकार गरे संगै संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिनलाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।
सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तानका बंगाली मातृभाषी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।
सो क्रममा आन्दोलन दमनको क्रममा राज्यबाट विद्यार्थीहरु मारिएका पनि थिए । सोही विद्यार्थी आन्दोलन र विद्यार्थीहरुको बलिदानको सम्झनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरिएको हो ।
सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र संघले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
बङ्गलादेशमा भने आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।
पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई भव्यताका साथ मनाउन थालिएको छ । नेपालमा १३१ वटा भाषाभाषीहरु बोल्ने गरिन्छ ।
युवा पुस्तामा मातृभाषाप्रतिको रुचि कम हुँदै गएको अवस्थामा भने यहाँका कैयन मातृभाषा लोप भइसकेको अवस्था छ भने कति भाषाहरु संकटमा छन् ।
नेपालको बहुलभाषी देशको पहिचानको साथमा मातृभाषाको संरक्षणका लागि राज्यबाट ठोस पहल हुनुपर्नेमा मातृभाषा अभियन्ताहरुले जोड दिइरहेका छन् ।
Categorized in राष्ट्रिय