arin enterprises

वा ग्वारामैं वा सार्वजनिक

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण १६, मंगलबार

नेपालभाषाको हास्य प्रधान गीत ‘वा ग्वारा मैं वा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले म्यूजिक भिडियोको लोकार्पण गरे ।

गीत लोकार्पण पछि बोल्दै पूर्व राज्यमन्त्री मानन्धरले संगीत मानव जीवनको एक अभिन्न अंग भएको भन्दै संगीत र श्रृजनाले मानिसहरुलाई श्रृजनशील बनाउने विचार राखे ।

त्यस्तै वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले गीतका गायक साथै म्यूजिक भिडियो निर्देशक सुरेन्द्र मानन्धरलाई मुक्तक सम्राटको उपाधी दिए ।

नेवाः फिल्म सोसाइटीका अध्यक्ष विराजकाजी राजोपाध्यायले मानिसहरुलाई गीत, संगीतले सकारात्मक बनाउने र हास्य विधाले उर्जावान बनाउने विचार राख्दै अहिलेको व्यस्त जीवनशैलीमा यस्तै गीतहरुको आवश्यकता भएको बताए ।

वरिष्ठ गायिका संगीता शाक्य र जुजुकाजी रंजितले उत्कृष्ट गीत बनेको भन्दै गीत निर्माण समूहलाई बधाई दिए ।

सुरेन्द्र मानन्धरको रचना र संगीत रहेको गीतमा सुरेन्द्रकै साथै सुरेश मानन्धर, सरस्वती मानन्धर र सविना मानन्धरले स्वर दिएका छन् । संगीत संयोजन भने जिवित जल्मीको रहेको छ ।

म्यूजिक भिडियोको छायाङ्कन अमन महर्जनले गरेका छन् भने दृश्य सम्पादन इन्द्र मानन्धरले गरेका छन् । मध्यपुर थिमितर्फको लोकेसनमा छायाङ्कन गरिएको म्यूजिक भिडियोको निर्देशन सुरेन्द्रले नै गरेका छन् ।

हाइलाइट्स नेवार युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

Categorized in पेजथ्री