सरकारी वेवसाइटहरु अब एउटै ढाँचामा
SamacharDesk | २०७९ फाल्गुण १६, मंगलबार

नेपालका सबै सरकारी वेबसाइट एउटा ढाँचा र मापदण्डमा निर्माण भएका छन् । सरकारी निकायका वेबसाइटमा एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ ।
सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज (मङ्गलबार) मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
यसअघि ह्याकरको निसानामा पर्दै आएका सरकारी वेबसाइटको निर्माणमा एकरूपता ल्याउने विषय विभिन्न समयमा चर्चा चले पनि हालसम्म त्यसो हुन सकेको थिएन ।
यस प्रणाली प्रयोग गरी विकास गरिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवम् अन्तर्गतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा आउने भएको छ ।
सो अवसरमा मन्त्री शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरु हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताउनु भयो । उहाँले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताउनु भयो ।
सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरु थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र व्यानर व्यवस्थापन गर्न सकिने जनाइएको छ ।
त्यस्तै कर्मचारीको विवरण, संगठन संरचना लगायतका कामहरु पनि गर्न सकिने बताइएको छ । सो अवसरमा सरकारी निकायहरूको वेबसाइटहरू मोबाइलको माध्यमबाट समेत हेर्न मिल्ने गरी छुट्टै मोबाइल एपको पनि सँगै विकास गरिएको विभागले जनाएको छ ।
Categorized in राष्ट्रिय