अष्ट्रेलियामा बसिरहेकी मानन्धरको उपन्यास काठमाडौंमा सार्वजनिक
SamacharDesk – विजयरत्न | २०७९ फाल्गुण १७, बुधबार

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।
काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा विशिष्ट महिला व्यक्तित्वहरुबाट उपन्यासको लोकर्पण गरीयो ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभासद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।
‘अन्तराष्ट्रिय अध्ययन’ विषयमा अस्ट्रेलियाबाट स्नातकोत्तर गरेकी मानन्धरले आफ्नो व्यस्त व्यावसायिक जीवनका बीच विभिन्न रचनात्मक कार्यहरु गर्दै आएकी छिन् ।
आफ्नो व्यस्तताकै बीचमा जीवनका विभिन्न कालखण्डमा छरिएका चार व्यक्तिको कथालाई लस्ट लेटर्सको शीर्षक दिएको लेखिका मानन्धरले बताइन् ।
पुस्तक विमोचन पछि बोल्दै उपसभामुख रानाले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुशी व्यक्त गरिन् । अंग्रेजी भाषामा रहेको यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्ने चाहना रानाले पोखिन् ।
त्यस्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले माया–ममता गुमाउँदै गएको अहिलेको पुस्ताका मानिसका लागि ‘लस्ट लेटर’ पुस्तक सुहाउँदो भएको टिप्पणी गरिन् ।
समारोहमा साहित्यकार इन्दिरा प्रसाईँ, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, प्रदेश सभासद् यमुना श्रेष्ठ, कवि उषा शेरचन लगायतका वक्ताले लेखिका मानन्धरलाई बधाइ दिँदै मन्तव्य राखेका थिए ।
पत्रकारितामा स्नातक गरेकी मानन्धरले आफ्ना केही साहित्यिक सिर्जनाहरु नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित गरिसकेकी छिन् ।
Categorized in पेजथ्री