रहेनन् कलाकार, निर्देशक सतिश कौशिक
SamacharDesk – बिराज | २०७९ फाल्गुण २५, बिहिबार

बलिउडका प्रख्यात कलाकार तथा निर्देशक सतिश कौशिकको निधन भएको छ । ६६ वर्षीय सतिशको हृदयाघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।
गुरुग्राममा आफ्नो एक साथीको घरमा होलि मनाउन जाँदा उतै उनलाई हृदयघात भएको उनका भतीजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हृदयघात पछि उनलाई उपचारको लागि फोर्टिस अस्पताल लगिएको थियो तर, उनी बच्न भने सकेनन् ।
उनको जन्म १३ अप्रिल १९५६ मा हरियाणामा भएको थियो । सतीशले आफ्नो स्कूल शिक्षा दिल्लीमा पूरा गरेका थिए ।
‘मिस्टर इंडिया’ चलचित्रमा उनको क्यालेन्डर क्यारेक्टर निकै चर्चित भएको थियो । साथमा उनले निर्देशन गरेको फिल्म तेरे नाम सुपर हिट भएको थियो । अहिले सतिशबाटै निर्देशित वादा नामक फिल्म रिलिजको तरखरमा रहेको छ ।
दुई दिन अघि मात्रै उनले जावेद अख्तरको घरमा होलि खेल्दै गरेको तसवीरहरु सोसियल मिडियामा पोस्ट गरेका थिए ।
स्वर्गीय सतिश कलाकार, निर्देशकको साथमा निर्माता र स्क्रीनराइटर समेत थिए ।
Categorized in पेजथ्री