arin enterprises

कोरोना संक्रमित कैलालीका युवकले पनि जिते भाइरसलाई

SamacharDesk – विकाश | २०७७ बैशाख ७, आइतबार

धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित कैलाली लम्कीचुहाका युवक पनि उपचार पछि निको भएर घर फर्केका छन् ।

कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार गरिएको परिक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो । 

त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा पनि कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

अस्पतालबाट डिस्चार्ज हुने समयमा आफ्नो उपचारमा सहयोग गर्नुहुने डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुलाई कृतज्ञता पोख्दै अरु संक्रमितलाई हिम्मत राख्न र आत्मविश्वास कायम राख्न सुझाव दिए । 

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । 

नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।

११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आजै घर फर्किएका छन् । संक्रमण निको भइसकेर पनि राजले थप १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये चार जना उपचार पछि निको भई घर फर्किएका छन् ।

२७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ ।

Categorized in राष्ट्रिय