घातु गाएर दङ्ग छन् माणिक
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ चैत्र ८, बुधबार

‘आज हो र मैले घातु गीत गाउन खोजिरहेको, मौका नै मिलेको होइन’ गायक माणिक शाही भन्दै गए ।
ढल्कोस्थित आफ्नो इलेक्ट्रोनिक सामान मर्मत पसलमा एउटा ग्याँसको चुल्हो मर्मत गर्दैै शाही भन्दै थिए, ‘बल्ल यसपालिको पाहांचःर्हेमा घातु गाउन पाइयो, दर्शक, श्रोताहरुले पनि मन पराइदिए । निकै खुसी लाग्यो ।’
गत चैत्र ४ गते शनिबार काठमाडौंको कंकेश्वरी मन्दिरसँगै रहेको इनाय् टोलमा इन्द्र विनायक क्लबले पाहांचःर्हे जात्रा र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा गायक शाहीले पाहांचःर्हे पर्वको अवसरमा गाइने घातु गीत गाएका थिए ।
होलि पर्वको समाप्तीसँगै घातु रागमा आधारित गीत गाउन सुरु गरिन्छ भने यसलाई विशेष रुपमा पाहांचःर्हे पर्वसँग जोडेर हेरिन्छ । गायक शाहीले पनि निकै समय अगाडीबाट घातु गाउन खोजिरहेका थिए । तर हरेक वर्ष कुनै न कुनै अवरोध, अप्ठ्यारो आइपर्ने र गाउन नपाइने ।
उनले गीत गाउन सुरु गरेको करीब ४ दशक भइसक्यो । उनको पहिलो गीत रेकर्डिङ भएको नै ३ दशक वितिसक्यो । धेरै गीतहरु गाए, तर घातु गाउन मौका नै मिलेको होइन ।
कस्तो संजोग हेर्नु न, त्यत्रो समय भयो, घातु गाउन खोजिरहेको । यो कार्यक्रममा राजनले मलाई नै किन पाहांचःर्हेको गीत गाउन भन्नुपर्ने होला, अरुलाई पनि भन्न सक्थ्यो
‘मलाई राजन भाईको फोन आयो र कार्यक्रममा पाहांचःर्हे पर्वसँग सम्वन्धित कुनै गीत गाइदिनुपर्यो भनेर अनुरोध गरे’ कार्यक्रम संयोजक राजन शाहीसँग कुराकानी सम्झिँदै उनले भने । ‘सुरुमा गीतार र केजोन मात्रमा गाउने कुरा थियो, पछि नायखिं बाजा पनि थपेर लाइभ गाइयो, मजा आयो ।’
कार्यक्रममा शाहीलाई गितारमा माइकल शाही, केजोनमा इन्द्रमान महर्जन, नायखिं सेटमा झ्यालीमा रत्नकुमार शाही अनि नायखिंमा विजय र रोशनले साथ दिएका थिए । गितार र केजोनमा दुई दिन प्राक्टिस गरेको र नायखिं सेट त अन द स्पट नै राखेर कार्यक्रममा गीत गाएको शाहीले जानकारी गराए ।
‘कस्तो संजोग हेर्नु न, त्यत्रो समय भयो, घातु गाउन खोजिरहेको । यो कार्यक्रममा राजनले मलाई नै किन पाहांचःर्हेको गीत गाउन भन्नुपर्ने होला, अरुलाई पनि भन्न सक्थ्यो । मसँग अरु पाहांचःर्हेको गीत पनि थियो, इन्द्रमानले पनि यहि बेला घातुको शब्द मलाई दियो’ शाहीले खुसी हुँदै भने ।
करीक एक दशक भइसकेको रहेछ शाहीले घातुको शब्द खोज्दै गरेको । घातुको गीतमा विभिन्न शब्दहरु छन् । विशेष रुपमा विरह पोख्न घातु गाउने रहेछ र गीतको बोल पनि यस्तै खालको हुने रहेछ । फरक भूगोल अनुसार घातुको शब्द पनि फरक फरक रहेछ ।
विगतमा कंग अजिमाको भजनबाट उनले शब्द संकलन गरेका रहेछन् । त्यो बेला पनि शब्दहरु संकलन गरौं र गीत गाउँ भन्ने त लागेको थियो उनलाई तर, दैनिक घर व्यवहार चलाउन काम गर्नै पर्यो, शब्द संकलन गर्नकै लागि भनेर पुरै समय दिएर लाग्न पनि सकेन रहेछन् । मौका मिल्यो, कुराकानी भयो, यताउति अलि हेरियो खोजियो । यत्तिकैमा समय वित्दै गएछ र एक दशक नै वितेको पत्तै भएनछ ।
यत्तिकैमा यसै वर्ष पाहांचःर्हे नजिकिँदै गर्दा करीब डेढ, दुई महिना अघि बहिनीको घरमा जाँदा उनले कंग अजिमाकै भजनबाट फेरी घातुकै फरक शब्द भेट्टाएछन् । फेरी कार्यक्रमको ३ दिन अगाडी उनका साथी इन्द्रमान महर्जनले अर्को शब्द ल्याइदिएछन् ।
घातु गीतका प्राय शब्दहरु मल्लकालका छन् । इन्द्रमानले संकलन गरेको शब्द पनि मल्लकालीन प्राचीन नेपालभाषामा थियो । इन्द्रमानले दिएको शब्दमा धेरै जसो शब्दहरुको अर्थ बुझ्नै गार्हो खालको भएपछि आफुले पहिला संकलन गरेको शब्दहरु पनि मिलाएर उनले गीत तयार गरेछन् ।
‘शब्दहरु त संकलन भयो, एकपल्ट गाइ हेरेको । पूरा गीत गाउँदा आधा घण्टै लाग्ने रहेछ । केही मिलाएर छोट्याएर गाएँ, छोट्याउँदा नै करीब ७ मिनेटको गीत बन्यो’ शाहीले भने ।
मिहिनेतको फल मिठो हुन्छ भनिन्छ । हो पनि होला, माणिक शाहीको वर्षौंको लगन, चाहना । उनको प्रस्तुतिलाई कार्यक्रमका दर्शकहरुले निकै रुचाए । उदेक लाग्दो मौसम रहने चैतमा विरहको गीत भएर हो अथवा लाईभ प्रस्तुति भएर हो अथवा गायकको गायकीले नै हो, दर्शकको मन निकै तान्यो ।
‘आफ्नो प्रस्तुति कसैलाई मनपर्यो भनेमा कलाकार खुसी नहुने त कुरै भएन । ‘पहिला पहिला यो गीतमा मान्छेहरु रोएकै पनि देखेको छु । यसपाली मैले गाउँदा पनि धेरैले मन छोयो भने, खुसी लाग्यो’ मिहिनेतको फल पाएको महसूस गर्दै शाहीले खुसी बाँडे । अब यो गीत रेकर्डिङ गर्ने सोचमा छन् शाही ।
एउटै गीतमा दशकसम्म लागिरहने, सोचिरहने, खोजिरहने । शायद यो समयसम्म अरु अरु गीतमा ध्यान दिएको भए केही नभएपनि १५÷२० वटा गीत त बन्थ्यो होला । तर यहि गीत किन ?
‘यस्तो गीतहरु भनेको हाम्रो पहिचान हो, हाम्रो समाजको ऐना पनि हो । यस प्रकारको गीतहरुको संरक्षण हुन सकेन भने हामीले आफुलाई संगीत प्रेमी कसरी भन्ने, पुर्खाले नधिक्कार्ला र हामीलाई ?’ शाहीले भने ।
नेवार समाजमा हरेक ऋतुको गीत छ । धेरै चाड र जात्रापर्वसँग जोडिएको गीत छ । यस्तै अन्य समुदायमा पनि होला, अझ भनौं छन् । यस प्रकारले गीतले तत्कालीन समाजको चित्रण गर्छ, तत्कालीन साहित्यको स्वरुप बताउँछ ।
यस प्रकारको गीत संरक्षण माणिक शाही मात्र होइन, हरेक संगीत प्रेमीको दायित्व हो । हाम्रा पुर्खाको श्रृजना संरक्षणमा माणिक शाहीको यो प्रयासको प्रशंसा नगर्ने को नै होला र ?
Categorized in पेजथ्री