नवनिर्वाचित अध्यक्ष निरौलाले दिए धन्यवाद
SamacharDesk – विजयरत्न | २०७९ चैत्र ९, बिहिबार

नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित अध्यक्ष मोहन निरौलाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी समिति निर्वाचित गराइदिएकोमा नवनिर्वाचित अध्यक्ष निरौलाले संघका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका हुन् ।
सामाजिक सन्जालमार्फत नव निर्वाचित अध्यक्ष निरौलाले महाधिवेशन सफल तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन समिति, सञ्चारकर्मीहरु, चलचित्र क्षेत्रसँग आवद्ध सम्पूर्ण संघसंस्था, बिशिष्ट चलचित्रकर्मी, सदस्यहरु लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरु तथा निकायहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले विशिष्ट चलचित्रकर्मी रबिन्द्र खड्काको नेतृत्वको निर्वतमान कार्यकारिणी समितिले सफलतापूर्वक महाधिवेशन सम्पन्न गराई कार्यभार हस्तान्तरण गरेकोमा कृतज्ञता प्रकट गरे ।
सामाजिक संजालको भित्तामा निरौलाले लेखेका छन् ‘आजबाट सुरु भएको मेरो कार्यकाल चलचित्र कलाकारहरुको पक्षमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । यसको लागि यहाँहरु सबैको सल्लाह, सुझाव र मार्गदर्शनलाई अनुशरण गर्दै नयाँ कार्यकारिणी समिति अगाडी बढने बिश्वास दिलाउन चाहन्छु ।’
शनिबार ढिलो गरी सम्पन्न मतगणनाबाट निरौला अध्यक्षमा विजयी घोषित भएका थिए । प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला संघको नयाँ अध्यक्ष निर्वाचित भएका हुन् ।
संघको दुई उपाध्यक्षमा कविता गेलाल र शिवहरी नेपाल बैरागी, महासचिवमा सबिन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य विजयी घोषित भए ।
यसैगरी संघको कार्य समिति सदस्यहरुमा शितल केसी, गोपाल ढकाल छन्दे, उद्वव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रन्जना खड्का खुश्बु, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।
Categorized in पेजथ्री