arin enterprises

निफमा बंगलादेशी चलचित्र सर्वश्रेष्ठ ठहर

SamacharDesk – विजयरत्न | २०७९ चैत्र ९, बिहिबार

नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैठौं संस्करणमा बंगलादेशका दुई चलचित्रहरु बेग्लाबेग्लै विधामा सर्वश्रेष्ठ अवार्ड जित्न सफल भएका छन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न महोत्सवमा बङ्गलादेशी चलचित्र “मेमोरिज अफ ग्लुमि मन्सुन्स”(सताओ) ले महोत्सवको सबैभन्दा ठूलो अवार्ड गौतम बुद्ध अवार्ड जित्न सफल भयो ।

यस अवार्डको राशी १५ सय डलर रहेको छ ।

अर्काे बङ्गलादेशी चलचित्र “हाउस अफ नो नेम” (पातालघर) ले बेस्ट फिचर फिल्म अवार्ड जित्न सफल भयो ।

चैत्र २ गते विहिबारबाट सुरु भएको चलचित्र महोत्सवमा जम्मा ३५ देशका ९५ सिनेमा सहभागी भएका थिए ।

विश्वभरका कथाहरुको उत्सव’ नारासहित चैत २ गतेदेखि ६ गतेसम्म चलेको महोत्सवमा विभिन्न नौ वटा विषयमा बहस सम्पन्न भएको अध्यक्ष केपी पाठकले जानकारी दिए ।

नेपाली चलचित्रको प्रतिस्पर्धात्मक विधामा “ऐना झ्यालको पुतली” ले सर्वश्रेष्ठ चलचित्रको साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विशेष जुरी अवार्ड, सर्वश्रेष्ठ निर्देशक सुजित बिडारी, सर्वश्रेष्ठ पटकथा सुजित बिडारीले जित्न सफल भए ।

यस्तैगरी नेपाली प्रतिस्पर्धामा “प्रकाश” चलचित्रबाट राजेश श्रेष्ठले सर्वश्रेष्ठ छायाँकार, दिया मास्केले सर्वश्रेष्ठ अभिनेत्री र प्रदिप खडकाले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वश्रेष्ठ चलचित्र “सिक्रेट्स अफ” ले विशेष जुरी पुरस्कार जितेको छ भने शर्टफिल्म र डकुमेण्ट्री विधामा नेपालको “जुन्को” सर्वश्रेष्ठ ठहरियो ।

इरानको “द प्रेयर” ले पन्चकन्या अवार्ड, इरान को “द बुक” ले बागमति अवार्ड, एनिमेशन फिल्मको लागि दिइने मन्जुश्री अवार्ड स्लोभाकियाको “द लिजेण्ड अफ गोल्डहाएम”, ए. के. शेर्पा मेमोरियल अवार्ड इण्डोनेशियाको “मेन्टावल–साउल्स अफ द फरेस्ट”, शर्टफिल्मतर्फ बेस्ट डाइरेक्टर नेपालको “दुविधा” बाट प्रद्युम्न मिश्रले अवार्ड जित्न सफल भए ।

Categorized in पेजथ्री